सामग्रीमा जानुहोस्
आइतबार, कात्तिक १, २०८३

एसियाड पदक विजेता तेन्जिङलाई तार्केश्वरको सम्मान

तार्केश्वर नगरपालिकाले २० औं एसियाली खेलकुदअन्तर्गत करातेका पदक विजेता तेन्जिङ शेर्पालाई शुक्रबार नगदसहित सम्मान गरेको छ।

तार्केश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल र तार्केश्वर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले तेन्जिङलाई २५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे।

जापानको आइची–नागोयामा भएको २० औं एसियाली खेलकुदको करातेतर्फ पुरुष ८४ केजीमुनि तेन्जिङले कांस्य जितेका थिए । २० औं एसियाडको करातेमा नेपालका लागि तेन्जिङले मात्र पदक जिते । तेन्जिङको पदक २० औं एसियाडमा नेपालले जितेको पहिलो पदक पनि हो । तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धा तेन्जिङले लाओसका खेलाडीलाई ९–१ ले पराजित गर्दै कांस्य पदक पक्का गरेका थिए।

समग्र एसियाडको करातेमा नेपाललाई पदक दिलाउने तेन्जिङ पाँचौ खेलाडी हुन् । यसअघि एसियाडमा करातेले १ रजत र ३ कांस्य जितेको थियो।

१९९४ को हिरोसिमा एसियाडमा सीता राई, १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्चोन एसियाडमा विमला तामाङले कांस्य तथा सन् २०२२ को हाङझाव एसियाडमा एरिका गुरुङले रजत जितेका थिए।


२० औं एसियाडमा नेपालले करातेमा सहित २ कांस्य जितेको थियो । अर्को कांस्य महिला कबड्डी टोलीले जितेको थियो।

सेयर गर्नुहोस्

1.1KShares