२०औँ एसियाली खेलकुदमा पदक जितेका खेलाडीहरूले पुरस्कारवापतकाे रकम पाएका छन्। बुधबार सरकारले विजेता खेलाडीहरूको खातामा पुरस्कार रकम जम्मा गरिदिएको हो।
विगतमा घोषित पुरस्कार प्राप्त गर्न खेलाडीहरूले वर्षौं पर्खिनु पर्थ्यो। तर, याे पटक भने पदक जितेर फर्किएकाे २ साता नबित्दै सरकारले खेलाडीलाई पुरकास्कार वापतकाे रकम दिएकाे हाे।
तर, यसपालि त्यस्तो औपचारिकता पूरा गरिएन। खेलाडीहरूको खातामा रकम सिधै राखिदियो । यसले खेलाडीहरूलाई सहज भएको छ । सरकारको तीव्र गतिको कामको प्रशंसा पनि भएको छ।
एसियाड सकिएलगत्तै गत हप्ता असोज २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले पदक विजेता खेलाडीलाई पुरस्कार तत्काल वितरण गर्ने निर्णय गरेको थियो। सरकारले पदक विजेता खेलाडीहरूलाई वितरण गरेको पुरस्कार राशी ३५ लाख १० हजार रुपैयाँ रहेको छ।
कसले कति पाए पुरस्कार?
२०औँ एसियाडमा नेपालबाट महिला कबड्डी टोली र कराते खेलाडी तेञ्जिङ शेर्पाले गरी दुई कास्य पदक प्राप्त गरेका थिए।
करातेतर्फ तेञ्जिङले ८४ केजीमाथिको तौल समूहमा तथा महिला कबड्डी टोलीले पदक जितेका हुन्। महिला कबड्डी टोलीको यो लगातार दोस्रो एसियाड कास्य हो।
ती खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले पुरस्कार पाएका हुन्। जसअनुसार करातेका तेन्जिङले ६ लाख ५० हजार, उनका प्रशिक्षक कुशल श्रेष्ठले एक लाख ३० हजार र व्यवस्थापक युवराज लामाले ६५ हजार रुपैयाँ पाएका छन्।
त्यसैगरी महिला कबड्डी टोलीका प्रत्येक खेलाडीले एक लाख ९५ हजार रुपैयाँ, मुख्य प्रशिक्षक पार्वती राईले एक लाख ३० हजार तथा सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले ६५/६५ हजार रुपैयाँ प्राप्त गरे।
