सामग्रीमा जानुहोस्
आइतबार, कात्तिक १, २०८३

एनपिएलका लागि शोएब अख्तर नेपाल आउने

पाकिस्तानका पूर्वतीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि नेपाल आउने भएका छन्।

उनी हिमालय स्पोर्ट्सको विशेष क्रिकेट प्रसारण कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका हुन्।

हिमालय स्पोर्ट्सले अख्तरलाई एनपीएलका खेलअघि र खेलपछि सञ्चालन हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ इन एसोसिएसन विथ बजाज पल्सर’ मा विशेष अतिथिका रूपमा अनुबन्ध गरेको जनाएको छ।

अख्तरले सन् १९९७ देखि २०११ सम्म पाकिस्तानको राष्ट्रिय टोलीबाट खेलेका थिए। उनले ४६ टेस्टमा १७८, १६३ एकदिवसीय अन्तर्राष्ट्रियमा २४७ र १५ टी–२० अन्तर्राष्ट्रियमा १९ विकेट लिएका छन्।

सन् २००३ को एकदिवसीय विश्वकपमा इंग्ल्यान्डविरुद्ध प्रतिघण्टा १६१.३ किलोमिटरको गतिमा बलिङ गरेका अख्तरको नाममा क्रिकेटमा रेकर्ड गरिएको सबैभन्दा तीव्र गतिको बलको कीर्तिमान छ।

कार्यक्रममा अख्तरले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट अनुभव, खेलको प्राविधिक पक्ष र नेपाली क्रिकेटको सम्भावनाबारे विश्लेषण गर्नेछन्। नेपाल भ्रमणका क्रममा उनी क्रिकेटसम्बन्धी विशेष अन्तरक्रिया तथा समर्थकसँगको भेटघाट कार्यक्रममा पनि सहभागी हुनेछन्।

एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ।

सेयर गर्नुहोस्

1.4KShares