सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
पहिलो र दोस्रो सिजन टोलीको मुख्य प्रशिक्षक रहेका जगत टमाटाको स्थान मिसबाहले लिनेछन्।
पाकिस्तानका सफल ब्याट्सम्यान उल हकले ७५ टेस्ट, १६२ एकदिवसीय अन्तर्राष्ट्रिय र ३९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
टेस्ट क्रिकेटमा उनले ५ हजार २२२, एकदिवसीयमा उनले ५ हजार १२२ र टी–२० अन्तर्राष्ट्रियमा ७८८ रन बनाएका छन्।
खेलाडीका रूपमा मात्र नभई कप्तानका रूपमा पनि मिसबाहको उपलब्धि उल्लेखनीय छ। उनले पाकिस्तानको टेस्ट टोलीको कप्तानीमा ५६ खेलबाट २६ जित दिलाएका थिए। उनको नेतृत्वमा पाकिस्तान सन् २०१६ मा पहिलोपटक आईसीसी टेस्ट वरीयताको शीर्ष स्थानमा पुगेको थियो।
उनी सन् २०१९ देखि २०२१ सम्म उनी पाकिस्तानको राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक तथा प्रमुख छनोटकर्ता रहेका थिए।
एनपीएलको पहिलो र दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले लिग चरणमा शीर्ष स्थान हासिल गर्दै फाइनलसम्मको यात्रा गरेको थियो। तर, उपाधि भिडन्तमा टोली पराजित भएको थियो।
