सामग्रीमा जानुहोस्
आइतबार, कात्तिक १, २०८३

एनपीएलमा प्रत्येक टिमले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा एक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको बताएका छन् ।

यसअघि अघिल्ला दुई संस्करणमा टोलीमा अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेकामा यसपटक संख्या बढाइएको उनले जानकारी दिए।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलका लागि स्वीकृति प्राप्त गर्ने प्रक्रियासँगै विदेशी खेलाडीको सहभागिता, एन्टी करप्सन, अम्पायरिङ, मिडिया पहुँच र प्रतियोगिताको सञ्चालनसम्बन्धी विभिन्न मापदण्ड लागू हुने बताए ।

उनका अनुसार आइसीसीले एनपीएल २०२६ का लागि पाँचवटा मुख्य विषयमा अनिवार्य सर्त राखेको छ ।

तीमध्ये अस्वीकृत क्रिकेट प्रतियोगितामा सहभागिता, विदेशी खेलाडीका लागि अनिवार्य प्रमाणपत्र (एनओसी) र भ्रष्टाचार नियन्त्रणका उपाय प्रमुख छन् ।

खड्काले आइसीसीको मान्यता नलिएका तथा सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट स्वीकृत नभएका प्रतियोगितालाई अस्वीकृत क्रिकेटका रूपमा बुझ्नुपर्ने बताए ।

उनका अनुसार एनपीएल २०२६ सुरु हुनुअघिको लगातार छ महिनाको अवधिमा त्यस्ता प्रतियोगितामा सहभागी भएका खेलाडीलाई प्रतियोगितामा खेल्न नपाउने व्यवस्था गरिएको छ ।

‘डोमेस्टिक प्रतियोगिताले आइसीसीको मान्यता पाएको हुनुपर्छ र सम्बन्धित होम बोर्डले पनि स्वीकृत गरेको हुनुपर्छ । होम बोर्डले पनि एप्रुभ नगरेको प्रतियोगितालाई अस्वीकृत क्रिकेट भनिन्छ । एनपीएल सुरु हुनुअघिको छ महिनाको अवधिमा त्यस्तो क्रिकेटमा सहभागी भएका खेलाडी एनपीएलमा खेल्न योग्य हुने छैनन्,’ उनले भने।

उनले विदेशी खेलाडीका लागि अनिवार्य एनओसीको व्यवस्था पनि लागू हुने बताए । अवकाश लिइसकेका विदेशी खेलाडीले समेत सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट एनओसी लिनुपर्ने उनको भनाइ छ ।

‘आईसीसीको स्वीकृति आइसकेपछि अवकाश लिएका विदेशी खेलाडीले पनि आफ्नो सम्बन्धित सदस्य बोर्डबाट अनिवार्य एनओसी लिनुपर्ने हुन्छ। फ्रेन्चाइज क्रिकेटमा धेरै खेलाडी सहभागी हुने भएकाले यस विषयमा स्पष्टता आवश्यक छ,’ उनले भने ।

खड्काले फ्रेन्चाइज क्रिकेटमा ठूलो रकम र विभिन्न पक्षको स्वार्थ जोडिने भएकाले भ्रष्टाचार नियन्त्रणका उपायलाई विशेष महत्त्व दिनुपर्ने बताए । खेलको निष्पक्षता कायम राख्न पर्याप्त स्रोतसाधन, निगरानी तथा अनुसन्धानको व्यवस्था गर्नुपर्ने उनले उल्लेख गरे ।

उनका अनुसार खेलाडी, टोलीका मालिक, फ्रेन्चाइज र प्रतियोगितासँग सम्बन्धित सबै सरोकारवालाको जिम्मेवारी बढाउनेछ । एनपीएलका लागि आईसीसीले पठाएका आवश्यकताहरू क्यानले स्वीकार गरिसकेको पनि उनले जानकारी दिए ।

‘हिजो राति करिब साढे ६ बजे इमेल आउनासाथ ४०–५० मिनेटभित्रै सबै आवश्यकताहरू स्वीकार गरेर इमेल पठाएका थियौँ। अब केही दिनमा समन्वय गरेर यसको औपचारिक अवस्थाबारे जानकारी गराउनेछौँ,’ उनले भने ।

खड्काले आईसीसीको स्वीकृतिसँगै प्रतियोगिताले टी–२० को मान्यता पाउने विषयमा पनि सोमबार साँझसम्म स्पष्ट पार्ने बताए । त्यसका लागि आवश्यक प्रक्रिया पूरा भएपछि आधिकारिक जानकारी सार्वजनिक गरिने उनले उल्लेख गरे ।

उनका अनुसार आगामी दुईदेखि तीन दिनभित्र प्रतियोगितासम्बन्धी थप घोषणा गरिनेछ । नेपाली तथा विदेशी अम्पायरको भूमिका, खेल सञ्चालनका सर्त र निर्णय समीक्षा प्रणाली (डीआरएस) जस्ता विषयलाई प्रतियोगिताको संरचनामा समेट्ने विषयमा काम भइरहेको उनले बताए ।

विदेशी खेलाडीको संख्या बढाइए पनि नेपाली खेलाडीलाई प्राथमिकता दिइने खड्काले स्पष्ट पारे। उनका अनुसार प्रत्येक टोलीले सात नेपाली खेलाडीलाई अनिवार्य रूपमा खेलाउनुपर्ने व्यवस्था छ । विदेशी खेलाडीको छनोट भने सम्बन्धित टोलीमा निर्भर हुनेछ ।

उनले भविष्यमा एसोसिएट राष्ट्रका खेलाडीलाई थप अवसर दिने विषयमा पनि सोच्न सकिने बताए । तर अहिलेका लागि प्रत्येक टोलीमा एसोसिएट राष्ट्रका खेलाडी अनिवार्य गर्न नसकिने उनको भनाइ छ ।

एनपीएलमा सञ्चारमाध्यमको पहुँचबारे बोल्दै खड्काले खेलस्थल प्रवेश, पोस्ट म्याच प्रेस कन्फरेन्स, फोटो पत्रकारको काम तथा खेलका दृश्य संकलनसम्बन्धी नियम स्पष्ट बनाइने बताए ।

आईसीसी एसिया सम्मेलनको तयारी

खड्काले एनपीएलसँगै नेपालमा आईसीसी एसिया सम्मेलन आयोजना हुने जानकारी पनि दिए । उनका अनुसार नोभेम्बर १९ देखि २१ सम्म हुने तीनदिने सम्मेलनमा एसियाका टेस्ट खेल्ने तथा एसोसिएट राष्ट्रका क्रिकेट पदाधिकारी सहभागी हुनेछन् । सम्मेलनमा क्रिकेटको विकास, उदीयमान क्रिकेट राष्ट्रलाई सहयोग र विभिन्न देशबीच सहकार्य विस्तारबारे छलफल हुनेछ ।

उनले सम्मेलन नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट समुदायसमक्ष एनपीएल र नेपालको आतिथ्य प्रदर्शन गर्ने अवसर भएको बताए । अधिकांश प्रतिनिधि नोभेम्बर १७ सम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको उनले जानकारी दिए ।

एनपीएलमा अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित व्यक्तित्वलाई सहभागी गराउने तयारी पनि भइरहेको खड्काले बताए । पोखरा एभेन्जर्सले इरफान पठानलाई ब्रान्ड एम्बेसडर घोषणा गरिसकेको र हिमालय स्पोट्र्सले शोएब अख्तरलाई ल्याउने तयारी गरेको उनले उल्लेख गरे ।

सेयर गर्नुहोस्

1.5KShares