आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको क्रिकोणात्मक सिरिजमा शनिबार भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ।
सिरिज अन्तर्गत सुरुवाती दुई खेल जित्दै शीर्ष ६ को सम्भावनालाई बलियो बनाएको नेपाल यो हारपछि ८ टोली सम्मिलित लिग २ को अंकतालिकामा सातौं स्थानमा झरेको छ। सबै ३६ खेल नै खेलिसकेको क्यानडा भने २९ अंकसहित नेपाललाई उछिन्दै छैटौं स्थानमा उक्लेको छ।
अब नेपालले शीर्ष ६ मा अटाउन अन्तिम खेलमा घरेलु टोली ओमानलाई हराउनुपर्नेछ । लिग २ को शीर्ष ६ मा पर्ने टोलीले ओडिआई मान्यता कायमै राख्ने सम्भावना धेरै रहेकोले पनि नेपालले अब अन्तिम खेल जित्नुपर्ने छ।
ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा २५७ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा २३२ रनमा अलआउट भयो। ओपनर अर्जुन कुमालको सानदार ब्याटिङ गरेपनि अन्य ब्याट्सम्यानले सहयोग नगर्दा नेपाल पराजित भयो।
अर्जुन ओडिआईमा पहिलो शतक बनाउनबाट १३ रनले मात्र चुके। उनले ११२ बल खेल्दै ४ चौका मदतमा ८७ रन बनाए। ४१ ओभरसम्म क्रिजमा टिकेका अर्जुनलाई अन्य खेलाडीले राम्रोसँग साथ दिन सकेनन्।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २७, इशान पान्डे र गुल्शन झाले समान २१ तथा आसिफ शेखले २० रन बनाए भने करण केसीले अविजित १७ रन जोडे ।
क्यानडाका लागि सुदजिन्दर सिंहले ३ तथा कलिम साना र शिल पटेलले समान २ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ओपनर युबराज सम्राको शतमा निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाएर २५६ रन बनाएको थियो । सम्राले ११७ बल खेल्दै ११ चौका र ४ छक्काको मद्तमा १०५ रन बनाए।
अर्का ओपनर आरोन जोन्सले ३६ रन बनाए भने हर्श थाकेरले ३४ र कप्तान हम्जा तारिकले ३० रन जोडे।
नेपालका लागि सबै १० विकेट स्पीनरले लिए। ललित राजंशीले १० ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । सन्दीप लामिछानेले ३, दीपेन्द्र सिंह ऐरीले २ तथा रोहित पौडेलले १ विकेट लिए।
