यो वर्षको बालोन डि’ओर बायर्न म्युनिख तथा इंग्ल्यान्डका कप्तान ह्यारी केनले जितेका छन्।
लन्डनमा आयोजित समारोहमा रियल मड्रिड तथा फ्रान्सका किलियन एम्बाप्पे र बार्सिलोना तथा स्पेनका लमिन यमाललाई पछि पार्दै केनले बालोन डि’ओर जितेका हुन्।
योसँगै ३३ वर्षीय केन माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। समग्रमा उनी बालोन डि’ओर पाउने पाँचौं इंग्ल्सि खेलाडी हुन्।
स्टान्ली म्याथ्युज, बबी चार्ल्टन, केभिन किगन र ओवेनले यो अवार्ड जितेका थिए।
केन बायर्न म्युनिखबाट बालोन डी’ओर जित्ने सन् १९८१ यताका पहिलो खेलाडी बनेका छन्। उनको सफलताको खुसीयालीमा सोमबार राति वेम्बली रंगशालाका आर्चहरू सुनौलो प्रकाशले सजाइएको थियो।
भोटिङमा एमबाप्पे दोस्रो, यामाल तेस्रो, रोड्री चौथो र लियोनल मेसी पाँचौं स्थानमा रहे।
केनले गत सिजन क्लबका लागि ५१ खेलमा ६१ गोल गरेका थिए। बायर्नका कुनै पनि खेलाडीले एक सिजनमा गरेको यो सर्वाधिक गोल हो। इंग्ल्यान्डका लागि खेलेका खेलसमेत जोड्दा उनले ६५ खेलमा ७३ गोल र आठ असिस्ट गरेका थिए।
अवार्ड जितेपछि केनले आफ्नो करिअरमा धेरै उतारचढाव आएको र सफलताका लागि धैर्य गर्दै कडा मेहनत गर्नुपरेको बताए।
