खराब लयबाट गुज्रिरहेको म्यान्चेस्टर युनाइटेडले २ महिनापछि जित निकालेको छ। उसले मंगलबार राति भएको खेलमा दुई गोलले पछि परेको अवस्था उल्टाउँदै यूईएफए च्याम्पियन्स लिगमा रोमाविरुद्ध ३–२ को उत्कृष्ट पुमनरागमन जित निकाल्यो।
रोमाका माटियास सौलेले ११औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको छ मिनेटपछि डोनियल मालेनले पेनाल्टीमार्फत गोल गरेपछि रोमाले २–० को अग्रता बनाएको थियो।
तर दोस्रो हाफमा युनाइटेडले उत्कृष्ट पुनरागमन गर्यो । ५८औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । रोमाका खेलाडी पेनाल्टी क्षेत्रभित्र प्रवेश गरेपछि दोहोर्याइएको पेनाल्टीमा फर्नान्डेसले गोल गरेका थिए ।
८३औं मिनेटमा माथियस कुन्हाले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि कुन्हाले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले ३–२ को अग्रता बनायो।
खेलको इन्जुरी समयमा दोस्रो पहेँलो कार्ड पाएपछि कुन्हा मैदानबाट बाहिरिए । तर १० खेलाडीमा सीमित युनाइटेडले बाँकी समय अग्रता जोगाउँदै जित सुनिश्चित गर्यो ।
जितसँगै युनाइटेडले लगातार नौ खेलदेखिको जितविहीन यात्रा पनि अन्त्य गरेको छ।
युनाइटेडका लागि अर्को चिन्ताको विषय मिडफिल्डर कार्लोस बालेबाको चोट बन्यो । पहिलो हाफमा ह्यामस्ट्रिङमा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका थिए।
