नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आईजीयु १२२ औं एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि हात पारेका छन्।
रोयल कलकत्ता गल्फ क्लबमा म्याच–प्ले फरम्याटमा खेलिएको ३६–होलको फाइनलमा सुवासले भारतीय खेलाडी रोहितलाई ९÷७ ले पराजित गरे। पहिलो नौ होलमा पछि परेको अवस्थालाई उल्ट्याँउदै सुवासले सात होल बाँकी रहँदै उपाधि जितेका हुन्।
सुवासको यो ऐतिहासिक सफलता हो। नेपाली गल्फरले भारतमा कुनैपनि प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो।
चौथो सिडेड सुवास र तेस्रो सिडेड रोहितबीचको पहिलो नौ होलको प्रतिस्पर्धा रोमाञ्चक बन्यो । पहिलो होल सुवासले जिते । तर, दोस्रो र आठौं होल जित्दा भारतीय रोहितले नौ होलको समाप्तिमा एक होलको अग्रता बनाए।
यसपछि १०औं होल सुवासले जिते र खेललाई बराबरीमा पुर्याए। १३ औं होलमा सुवासले अग्रता बनाए। तर, १४ औं होल फेरि रोहितले जिते। खेल बराबरीमा पुग्यो । यसपछि १५ औं, १६ औं तथा १८ औं होल आफ्नो पक्षमा पार्दै १८ होलको खेल सकिँदा सुवासले ३–अपको अग्रता बनाए।
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवासले त्यसपछि खेलिएको ११ होलमा एक होलमात्र गुमाए । २० औं होलमा हार बेहोरेका उनले त्यसपछि लगातार दुई होल जित्दै आफ्नो अग्रता ४–अप पुर्याए।
२४ औं देखि लगातार ४ होल आफ्नो पक्षमा पार्दै सुवास २७ होलको समाप्तिमा ८–अपको अग्रता बनाउन सफल भए । २८औं होल बराबरी भएपछि सुवासले २९ औं होल आफ्नो पक्षमा पार्दै सानदार जित हासिल गरे । सन् १८९२ मा सुरूआत भएको भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप जित्ने सुवास पहिलो नेपाली खेलाडी हुन्।
सुरुको दुई दिन स्ट्रोक–प्ले फरम्याटमा ३६ होल खेलेपछि उत्कृष्ट ३२ खेलाडी म्याच–प्लेका लागि छनौट भएका हुन् । स्ट्रोक–प्लेमा सुवास १–ओभर ७३ र २–अण्डर ७० खेल्दै चौंथो भएका थिए।
म्याच–प्लेको सुरुआती तीन राउन्डमा भारतीय खेलाडीलाई हराएका सुवासले सेमीफाइनलमा दक्षिण अफ्रिकाका अल्टिन भ्यान डर मर्वेमाथि जित हासिल गरेका थिए।
नेपाल ओलम्पिक कमिटीबाट सन् २०२४ को पेरिस ओलम्पिक गेम्सका लागि छात्रवृत्ति प्राप्त गरेका सुवास विगत दुई वर्षदेखि भारतको बैंग्लुरुस्थित तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षणरत रहेका छन्।