भारतको देहरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित ११ पदक जितेका छन्।
टोलीका व्यवस्थापक समेत रहेका स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले नेपाली खेलाडीले ४ स्वर्णका अलावा थप ३ रजत र ४ कांस्य पनि जितेको जनाएका छन्।
पुरुष ४५ केजीमुनि वृजेश रायमाझी, ३२ केजीमुनि रघुनाथ भण्डारी, ५० केजीमुनि सोफिक बराइली र ४५ केजीमुनि सुजित कार्कीले स्वर्ण जिते। आभास डिओले पुरुष ३२ केजीमुनि र एकल पुम्सेमा गरी दुई रजत जिते भने ३७ केजीमुनि सोहन तामाङले रजत हात पारे।
पुरुष ४१ केजीमुनि क्षितिज घले, ५५ केजीमुनि अशिम घिमिरे, ३५ केजीमुनि दिप्सन थापा र एकल पुम्सेमा वृजेश रायमाझीले कांस्य प्राप्त गरे।
टोलीको प्रशिक्षकमा रन्जितबहादुर डंगौरा रहेका छन्। सबै खेलाडी एसकेबीसी तेक्वान्दो डोजाङका हुन्। टोली स्वदेश फर्किसकेको छ।