कर्णालीमा संसारकै लामो र्‍याफ्टिङ दौड हुने

28 Dec, 2023

कर्णाली आसपासको सभ्यातालाई विश्वभर चिनाउने उद्देश्यले कर्णाली नदीमा हालसम्मकै विश्वको लामो जलयात्रा -द ग्रेट कर्णाली क्वेस्ट_ र्‍याफ्टिङ दौड प्रतियोगिता हुने भएको छ ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज -नारा_ले यसअघि जाजरकोट भूकम्पका कारण स्थगित गरेको र्‍याफ्टिङ दौड अब फागुन १३ मा गर्न लागेको हो । एसोसिएसनका अध्यक्ष शिव अधिकारीले भूकम्पका कारण रोकिएको दौड फागुन २५ गते गर्न लागिएको बताए ।

दैलेखको आठबीसकोट नगरपालिकास्थित राकमबाट सुरु हुने दौड कैलाली र बर्दियाको सिमानामा पर्ने चिसापानीस्थित दौलतपुरघाटमा पुगेर टुंगिनेछ । यो जलयात्रामा सहभागी खेलाडीले ६ दिनमा २ सय ४८ किलोमिटर दूरी नदी र्‍याफ्टिङ गरेर पार गर्नुपर्नेछ ।

‘कर्णाली प्रदेशमा हालै आएको भूकम्पले गर्दा सबै तयारी भइसकेको अवस्थामा सार्नपर्‍यो,’ अध्यक्ष अधिकारीले भने, ‘भारत, चीन, अमेरिकासहित ११ वटा देशका ५० बढी खेलाडीको सहभागिता पक्का-पक्की भइसकेको थियो ।’

अब हुने र्‍याफ्टिङ यात्रामा कम्तीमा १२ वटा मुलुक सहभागी हुने प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए । हरेक देशबाट बढीमा दुइटा टिमले र्‍याफ्टिङ गर्न पाउने छन् ।

यसअघि नेपाल सरकारले भ्रमण वर्ष २०२० मा कर्णालीमा विश्वकै सबैभन्दा लामो जलयात्रा गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । त्यसताका कोभिड महामारीका कारण भ्रमण वर्ष नै स्थगित भएपछि जलयात्रा पनि स्थगन भएको थियो।

नाराका अनुसार, देशभरमा १ सय ३० वटा र्‍याफ्टिङ कम्पनी दर्ता भए पनि हाल यो संख्या ७० मा झरेको छ । यो पेशमा मात्रै ३ हजार रिभर गाइड आश्रित छन् । दौडमा विजेताले २३ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ ।