आईपिएलमा दिल्लीको जित, चेन्नईको पहिलो हार

1 Apr, 2024

इन्डियन प्रिमियर लिग (आईपिएल)को १७औं संस्करणमा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ। आइतबार राति घरेलु मैदान विशाखापटनममा दिल्लीले डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सलाई २० रनले हरायो।

तेस्रो खेलमा दिल्लीको यो पहिलो जित हो। यसअघि उ राजस्थान रोयल्स र पञ्जाब किंग्ससँग पराजित भएको थियो। यता, चेन्नईको भने यो पहिलो हार हो। उसले यसअघि रोयल च्यालेन्जर्स बैंग्लोर र गुजरात टाइटन्टसलाई हराएको थियो।

विसाखापटनममा दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १७१ रन मात्र बनाउन सक्यो। उसका लागि अजिन्क्या रहानेले सर्वाधिक ४५ रन बनाए। उनले ३० बलमा ५ चौका र २ छक्का प्रहार गरे।

यस्तै, आठौं नम्बरमा ब्याटिङका लागि आएका महेन्द्रसिंह धोनीले विस्फोटक ब्याटिङ गर्दै १६ बलमा ४ चौका र ३ छक्का मद्दतमा ३७ रन बनाए। यस्तै, डार्यल मिचेलले ३४ र रविन्द्र जडेजाले २१ रन बनाए।

बलिङमा दिल्लीका लागि खालिल अहमदले पावरप्लेमा उत्कृष्ट बलिङ गरे। उनले ४ आभोरमा २१ रन खर्चेर २ विकेट लिए। यस्तै, मुकेश कुमारले ३ विकेट लिए।

त्यसअघि कप्तान ऋषव पन्त र डेविड वार्नरको अर्धशतक मद्दतमा दिल्लीले ५ विकेटको क्षतिमा १९१ रन बनायो। दिल्लीका डेविड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाउँदा पन्तले ३२ बलमा ४ चाका र ३ छक्कासहित ५१ रन बनाए।

यस्तै, ओपनर पृथ्वी शाले २७ बलमा ४ चौका र २ छक्कासहित ४३ रन बनाउँदा मिचेल मार्शले १८ बनाए।

चेन्नाईका मथिशा पाथिरानाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिँदा मुश्ताफिजुर रहमान र रविन्द्र जडेजाले समान १ विकेट लिए।