वाट्सन भन्छन्– ग्रीनलाई ३ नम्बरमा ब्याटिङ र पावर प्लेमा बलिङ दिनुपर्छ, उनी म्याच विनर हुन्

6 Apr, 2024

स्टार खेलाडी भरिएको रोयल च्यालेन्जर्स बैंग्लोरले यो सिजनमा पनि आईपिएपलमा खराब सुरुआत गरेको छ। उसले ४ मध्ये १ खेल मात्र जितेको छ।

बैंग्लोरले आजै जयपुरमा घरेलु टोली राजस्थान रोयल्सको सामाना गर्दैछ। खेलअघि अस्ट्रेलिया तथा बैंग्लेरका पूर्वखेलाडी सेन वाट्सनले अस्ट्रेलियाकै अलराउन्डर तथा बैंग्लोरका खेलाडी क्यामरुन ग्रीन म्याच विनर भएको बताएका छन्।

मुम्बई इन्डियन्सबाट ट्रेड मार्फत बैंग्लोर आएका ग्रीनलाई बैंग्लोर अहिले ५ नम्बरमा खेलाइरहेका छ। तर, त्यहाँ उनी प्रभावशाली देखिएका छैनन्।

वाट्सनले ग्रीनलाई ब्याटिङका लागि ३ नम्बर उपयुक्त भएको बताएका छन्। यस्तै, उनले बैंग्लोरले पावर प्लेमै १–२ ओभर ग्रीनलाई बलिङ दिनु टिमका लागि फाइदाजनक हुने बताएका छन्।

वाट्सलने टिममा उपयुक्त स्थान नपाउँदा ग्रीनले प्रदर्शन खस्किएको उनले बताएका छन्।

‘आरसिबी उनीबाट उत्कृष्ट प्रदर्शन चाहन्छ भने उपयुक्त स्थानमा प्रयोग गर्नुपर्छ। उनलाई ३ नम्बरमा ब्याटिङ गराउनुपर्छ, त्यसका लागि उनी उपयुक्त छन्,’ उनले भनेका छन्, ‘ग्रीन नयाँ बलमा उत्कृष्ट प्रदर्शन गर्छन्, पावर प्लेमै बलिङको मौका दिनुपर्छ। उनी म्याच विनर हुन्।’