नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास समितिले पोखराको साविक लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ सम्पन्न गरेको छ।
दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले जिते। श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड एक घण्टा चार मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद ६० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे।
यसैगरी सशस्त्र प्रहरी बलका किरण बोगटी दोस्रो भए। उनले एक घण्टा छ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरे। उपविजेता बोगटीले नगद ३० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
पहिलो संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेतले एक घण्टा नौ मिनेट २९ सेकेण्डमा दौड सकेर यसपटक तेस्रो भए। उनले २० हजार प्राप्त गरे।
सशस्त्रका खिमबहादुर खत्रीले एक घण्टा नौ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरेर चौथो र आर्मीका प्रताप खड्काले एक घण्टा १० मिनेट ४१ सेकेण्डमा दौड सकेर पाँचौँ भए। उनले क्रमशः १० हजार पाँच हजार रुपैयाँप ्राप्त गरे।
यस्तै १० किमी खुला राष्ट्रिय पुरूष दौडमा नेपाली सेनाका श्रीकश राई विजेता र सुवास कार्की उपविजेता बने। गण्डकी मेडिकल कलेजका अजितकुमार यादव तेस्रो र सोही कलेजका दिनेश बोगटी चौथो र एपिएफका राजेन्द्र तामाङ पाँचौँ भए।
यसैगरी १० किमी महिला दौडमा सेनाका पूर्णलक्ष्मी न्यौपाने पहिलो, नेपाल पुलिसका राममाया बुढा दोस्रो र सेनाका सृजना पाण्डे तृतीय भएको आयोजकले जनाएको छ। एपिएफका पुष्पा भण्डारी चौथो र एपिएफकै आशा राउत पाँचौं भए।
महिला–पुरुष १० किमी राष्ट्रिय खुला दौडको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपौयाँ प्राप्त गर्दा तेस्रो, चौथो र पाँचौं हुनेले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय रुपैयाँ प्राप्त गरे।
भेट्रान्स पाँच किमी दौडमा काठमाडौँका धर्म महर्जन पहिलो, धादिङका रैवतबहादुर दाहाल दोस्रो र पोखराका विश्वलाल श्रेष्ठ तेस्रो भए। विद्यालय छात्रतर्फ पाँच किमी दौडमा कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की पहिलो, कुमुदिनी होम्सका कृष्ण परियार दोस्रो र भद्रकाली माविका गङ्गा गुरूङ तेस्रो भए।
छात्रातर्फ रेन्बो एकेडेमीकी शर्मिला विक पहिलो, कालिका माविकी स्वीकृति कार्की दोस्रो, छोरेपाटन माविकी नारायणी भण्डारी तेस्रो हुनुभएको आयोजकले जनाएको छ।