रोहितको शतक खेर गयो, मुम्बई चेन्नईसँग पराजित

15 Apr, 2024

रोहित शर्माको शतकका बाबजुद मुम्बई इन्डियन्स आईपिएलमा पराजित भएको छ। आइतबार राति वानखेडेमा भएलमो चेन्नई सुपर किंग्सले मुम्बईमाथि २० रनको जित निकाल्यो।

चेन्नाईले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले ६ विकेट गुमाएर १८६ रन मात्रै बनाउन सक्यो। मुम्बईका लागि रोहित शर्मा शतक प्रहार गरी नट आउट रहे। उनले ६३ बलमा ११ चौका र ५ छक्का प्रहार गरी १०५ रन बनाए।

त्यस्तै तिलक बर्माले २० बलमा ५ चौका प्रहार गरी ३१ रनको जोडे। ओपनर इशान किशनले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरी २३ रनको योगदान गरे।

बलिङमा चेन्नाईका मथिशा पाथिरानाले ४ विकेट लिए भने तुशार देशपाण्डे र मुस्ताफिजुर रहमानले समान १ विकेट लिए।

वानखेडे स्टेडियममा पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेट गुमाएर २०६ रन बनाएको थियो। उसका लागि शिवम दुबे ६६ र महेन्द्रसिंह धोनी २२ रन बनाएर नट आउट रहे।

दुबेले ३८ बलमा १० चौका र २ छक्का प्रहार गरे भने ४ बल खेलेका धोनीले ३ छक्का प्रहार गरे। त्यसअघि कप्तान रूतुराज गायकवाडले ४० बलमा ५ चौका र ५ छक्का हानेर ६९ रन बनाएका थिए।

बलिङमा मुम्बईका कप्तान हार्दिक पाण्ड्याले २ तथा जेराल्र्ड कोट्जी र श्रेयस गोपालले समान १ विकेट लिए।

जितसँगै चेन्नई उसले ६ खेलबाट ८ अंक जाड्दै तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बई ४ अंकसहित आठौं स्थानमा छ।