कीर्तिमानले भरिएको सनसनीपूर्ण खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ। आइपिएल अन्तर्गत सोमबार राति चिन्नास्वामीमा भएको हाइस्कोरिङ म्याचमा हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लुरुमाथि २५ रनको जित निकाल्यो।
आईपिएल इतिहासकै सर्वाधिक ठूलो २८८ रनको लक्ष्य पछ्याएको बैंग्लुरुले ७ विकेटको क्षतिमा २६२ रन बनायो। रन चेज गर्दै बनाएको यो पनि कीर्तिमान स्कोर नै हो।
बैंग्लुरुमा लागि भेट्रान विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकले अविश्वसनीय पारी खेले। उनले ३५ बलमा ५ चौका र ७ छक्का मद्दतमा ८३ रन बनाए। यो पारीमा उनले यो सिकै सर्वाधिक लामो (१०८ मिटर) छक्का पनि प्रहार गरेका थिए।
यस्तै, कप्तान फाफ डु प्लेसिसले २८ बलमा ७ चौका र ४ छक्का मद्दतमा ६२ र विराट कोहलीले २० बलमा ४६ रन बनाए। बलिङमा हैदरावादका कप्तान पाट कमिन्सले ३ तथा मयंक मार्कन्डेले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको हैदरावादले त्रविस हेडको शतक मद्दतमा ३ विकेटको क्षतिमा कीर्तिमानी २८७ रन बनायो। यो आइपिएल इतिहासकै सर्वाधिक ठूलो स्कोर हो। हैदरावादले आफ्नै कीर्तिमान तोड्यो। यसअघि उसले यही सिजन मुम्बई इन्डियन्सविरुद्ध २७७ रन बनाएको थियो।
उसका लागि हेडले ४१ बलमा ९ चौका र ७ छक्का मद्दतमा १०२ रन बनाए। उनले ३९ बलमा शतक प्रहार गरेका थिए। यो आईपिएलको चौथो सर्वाधिक छिटो शतक हो। यस्तै, हेनरिच क्लासनले ३१ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै ६१ रन बनाउँदा अब्दुल शमदले १० बलमा ४ चौका र ३ छक्का मद्दतमा ३७ रन बनाए।
बलिङमा बैंग्लुरुका लोकी फर्गुसनले २ तथा रिस टप्लीले १ विकेट लिए।
६ खेलका चाथो जित निकालेको हैदरावाद ८ अंकसहित चौथो स्थानमा उक्लिएको छ। यता, बैंग्लुरु भने ७ खेलमा १ मात्र जित निकाल्दै पुछारमै छ।