मछिन्द्रलाई हराउँदै पुलिसले जित्यो जीतपुर-सिमरा गोल्डकप उपाधि

16 Apr, 2024

विभागीय टिम नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ। सोमबार राति सिमरा रङ्गशालामा सम्पन्न प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइव्रेकरमा ४–३ ले हराउँदै पुलिसले पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा टुंगिएपछि भएको टाइव्रेकरमा पुलिसले जित निकालेको हो।

प्रशिक्षक चेतन घिमिरेले टाइव्रेकरलाई लक्षित गरि अतिरिक्त समयको अन्तीममा मैदान पठाएका गोलरक्षक अमित टमाटा पुलिसको जितमा नायक बने । अमितले मच्छिन्द्रका दुई प्रहार रोकेपछि पुलिस उपाधि उचाल्न सफल भयो।
मच्छिन्द्रका लागि विशाल तामाङ्ग, सनिश श्रेष्ठ र दिवाकर चौधरीले गोल गर्दा सौरभ लिम्बु र चन्दन दासको प्रहार पुलिसका गोलरक्षकले गोलमा परिणत हुन दिएनन् । पुलिसका लागि कप्तान रामचन्द्र वाजे, पुजन राई, सुजन मगर र आशिष राईले गोल गरे।

यसअघि भएको प्रतिष्पर्धात्मक खेलमा दुबै टिमले निकै आकर्षक अवसरहरु सिर्जना गरेपनि गोल गर्न भने सकेनन् । मच्छिन्द्र निर्धारित समयको अन्त्य तिर ९ खेलाडीमा सिमीत बनेको थियो।

उत्सव राई ८४ औं मिनेटमा रातोे कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए भने खेलको ८८ औं मिनेटमा मनिष डाँगी दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदानबाट बाहिरीए । ९ खेलाडीमा सिमीत भएपनि मच्छिन्द्रले अतिरिक्त समयको खेलमा पुलिसलाई दबाबमा राखेको थियो।

मच्छिन्द्रका विमल घर्तिमगरले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै टिभीएस स्कुटर प्राप्त गरे। पुलिसकै उज्वल राई र वीरगञ्ज युनाइटेड क्लबका फागुराम चौधरी सर्वाधिक गोलकर्ता बने।