सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

राजस्थान रोयल्सविरुद्ध हैदरबादको एक रनको रोमाञ्चक जित

Sunrisers Hyderabad players celebrates their win during match 50 of the Indian Premier League season 17 (IPL 2024) between Sunrisers Hyderabad and Rajasthan Royals held at the Rajiv Gandhi International Stadium, Hyderabad on the 2nd May 2024. Photo by Pratik Khot / Sportzpics for IPL

इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावादले एक रनको रोमाञ्चक जित दर्ता गरेको छ। हैदरावादले बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १ रनले पराजित गरेको हो।

हैदरावादले दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले ७ विकेटको क्षतिमा २ सय रनमात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सको सुरुवात निकै खराब रह्यो।

पहिलो ओभरमा नै दुई ठूला विकेट गुमायो । जोस बटलर र कप्तान सञ्जु सामसनले खाता पनि खोल्न सकेनन्। यी दुईको विकेटसँगै राजस्थानको इनिङ्स निकै कठिन देखिएको थियो। त्यसपछि यशस्वी जैसवाल र रियान परागको उत्कृष्ट ब्याटिङको नमुना पेश गरे।

दुवैले शतकीय साझेदारी गरेका थिए। तेस्रो विकेटका लागि १३४ रनको साझेदारी १४औं ओभरमा टुटेको थियो । जैसवालले ४० बलमा ६७ रन बनाएर आउट भए।

रियान परागले पनि अर्धशतक बनाएर ४९ बलमा ७७ रन बनाएपछि १६औं ओभरमा १५९ रनको स्कोरमा चौथो विकेटका रूपमा आउट भएका थिए । सिम्रन हेटमायरले छिटो रन बनाउने प्रयास गरे तर उनी पनि ९ बलमा १३ रन बनाएर १८ औं ओभरमा १८१ रनमा आउट भए । ध्रुव जुरेलको ब्याटले पनि काम गरेन र ठूलो सट खेल्ने प्रयासमा १९ औं ओभरमा १ रन मात्र बनाएर आउट भए । त्यस ओभरमा ७ रन मात्र आयो । अन्तिम ओभरमा राजस्थानलाई जितका लागि १३ रन आवश्यक थियो।
पहिलो ५ बलमा ११ रन आए पनि अन्तिम बलमा भुवनेश्वर कुमारले रोभमान पावेललाई एलबीडब्ल्यू आउट गर्दै टोलीलाई शानदार जित दिलाए। सनराइजर्स हैदरावादका भुवनेश्वरले सर्वाधिक ३ विकेट लिए।

हैदरावादले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो। जवाफमा राजस्थान रोयल्सले निर्धारित ओभरमा ७ विकेट गुमाएर २०० रन बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक रहे पनि ११ रनमात्रै बनेको थियो । अन्तिम ओभर हैदरावादका अनुभवि बलर भुवनेश्वर कुमारले उत्कृष्ट बलिङ गरेका थिए।

सनराइजर्स हैदरावादले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि पावरप्लेमा हैदराबादले रन बनाउन सकेन। अभिषेक शर्मा पाँचौं ओभरमा १० बलमा १२ रन बनाएर आउट भए । त्यस्तै अनमोलप्रीत सिंह छैठौं ओभरमा व्यक्तिगत ५ रन बनाएर पभेलियन फर्किए । त्यहाँबाट इनिङलाई अगाडि बढाउने काम ट्राभिस हेड र नितिश कुमार रेड्डीको जोडीले गरेको थियो।

हैदरावादको टोलीले १३ औं ओभरमा १०० रनको अंक पार ग¥यो। योसँगै हेडले ३९ बलमा अर्धशतक बनाएका थिए । तेस्रो विकेटका लागि ९६ रनको साझेदारी आवेश खानले तोडेका थिए । हेडले ४४ बलमा ५८ रन बनाएपछि १५औं ओभरमा आउट भए । उनी आउट हुँदा टिमको स्कोर १३१ रन रहेको थियो।

ट्राभिस हेडको विकेटपछि नितिश कुमार रेड्डीले पारिको जिम्मा लिए। उनले ३० बलमा आफ्नो अर्धशतक पूरा गर्न सफल भए । अर्धशतक पछि, नितिशले थप आक्रामकता देखाए र हेनरिक क्लासेनको अर्थपूर्ण साथ पनि पाए। दुवैले चौथो विकेटका लागि ३२ बलमा ७० रनको नटआउट साझेदारी गर्दै स्कोरलाई २०० भन्दा माथि पुर्याएका थिए।

नितिशले ४२ बलमा तीन चौका र आठ छक्का प्रहार गर्दै नटआउट ७६ रन बनाए । सोही क्रममा क्लासेनले १९ बलमा तीन चौका र तीन छक्का सहित ४२ रनको नटआउट पारि खेले।

राजस्थान रोयल्सका लागि आवेश खान सर्वाधिक सफल बलर बने र दुई विकेट लिए।

हारे पनि राजस्थान रोयल्स तालिकाको शीर्ष स्थनमा छ। अहिलेसम्म १० खेल खेल्दा राजस्थान दुई खेलमा मात्रै पराजित भएको छ । हैदरावाद भने जितसका साथ १२ अंक बनाउँदै तालिकाको चौथो स्थानमा उक्लिँदै प्लेअफको दावेदारिता प्रस्तुत गरेको छ।
आइपीएल अन्तर्गत आज राति मुम्बई इन्डियन्स र कोलकाता नाइटराइडर्स आमने सामने हुने छन् । खेल पौने ८ बजे सुरु हुनेछ।

1.3Kशेयर