राजस्थानमाथि पञ्जाबको जित, राजस्थानको क्वालिफायर कठीन मोडमा

16 May, 2024

इन्डियन प्रिमियर लिग (आइपिएल) अंक तालिकाको दोस्रो स्थानमा रहेको राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ। गएराति भएको खेलमा राजस्थान पञ्जाबसँग ५ विकेटले पराजित भएको हो।

राजस्थानले दिएको १४५ रनको लक्ष्य पञ्जाबले १८.५ ओभर खेलेर ५ विकेटको क्षतिमा पूरा गर्‍यो। त्यसक्रममा कप्तान शाम करण ६३ र आशुतोष शर्मा १७ रन हानेर नट आउट रहे।

कप्तान शाम करणले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। ११ बल खेलेका आशुतोष शर्माले १ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि रिली रोसोले १३ बला ५ चौका हानेर २२ रन बनाएका भने जितेश शर्माले २० बलमा २ छक्का प्रहार गरी २२ रन जोडे।

बलिङतर्फ राजस्थानका अवेश खान र युजवेन्द्र चाहलले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेट गुमाएर १४४ रन बनाएको थियो। त्यस क्रममा रियान परागले सर्वाधिक ४८ रन बनाए। उनले ३४ बलमा ६ चौका प्रहार गरे।

त्यस्तै रवीचन्द्रन अश्विनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरी २८ रन जोडे। टम कुलर कडमोर र कप्तान सन्जु सामसन १८ रन बनाए।

बलिङतर्फ पञ्जाबका साम करण, हर्षल पटेल र राहुल चाहरले समान २ विकेट लिए।

लागतार चौथो हारसँगै राजस्थानको शीर्ष २ मा रहँदै क्वालिफायर खेल्ने सम्भावना कमजोर बनेको छ। राजस्थान र पञ्जाब दुवै टिमले लिग चरणमा थप एक खेल खेल्न बाँकी छ।

१६ अंक बनाएर दोस्रो स्थानमा रहेको राजस्थानको प्लेअफमा पुगिसकेको छ भने १० अंक बनाएर नवौं स्थानमा रहेको पञ्जाबको प्लेअफ सम्भावना सकिएको छ।