म्यान्चेस्टर डर्बीमा जित निकाल्दै म्यान्चेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ। शनिबर राति वेम्बलीमा भएको फाइनलमा म्यान्चेस्टर सिटीमाथि २–१को जित निकाल्दै युनाइटेडले खराब सिजनको सुखद अन्त्य गरेको छ।
सिजनभर खराब प्रदर्शन गरेको युनाइटेडलाई यो जितले ठूलो राहत मिलेको छ। युनाइटेडले लिग ८औं स्थानमा सकाएको थियो, र उ अर्को सिजन कुनै पनि युरोपियन प्रतियोगिता खेल्नबाट बञ्चित भएको थियो।
तर, सिटीलाई हराउँदै एफएकप जितेपछि युनाइटेड युरोपियन प्रतियोगितामा फर्किएको छ। अब उसले टोटनहमसँगै युरोपा लिग खेल्ने छ।
अलेजान्ड्रो गार्नाचो र कोबी माइनूले गोल गर्दै एरिक टेन हागको टोलीलाई पहिलो हाफमै २–० गोल अन्तरको अग्रता दिलाएका थिए। खेलको ३०औँ मिनेटमा सिटीका डिफेन्डर जोस्को ग्वार्डिओल र गोलरक्षक स्टेफन ओर्टेगाको गल्तीका कारण गार्नाचोले गोल गर्दै युनाइटेडलाई शुरूआती अग्रता दिलाए।
त्यसको दुई मिनेटपछि मार्को रास्फोर्डले गरेको गोलले मान्यता पाएन। ३९औँ मिनेटमा माइनूले दोस्रो गोल थपे। उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरे।
८७औँ मिनेटमा फिल फोडेनको पासमा जेरेमी डोकुले गोल गर्दै सिटीलाई २–१ को स्थितिमा ल्याए। तर, त्यसपछि युनाइटेडलाई दबाबमा राखेपनि गोल गर्न नसक्दा सिटी पराजित भयो।
यो युनाइटेडको १३औं एफए कप उपाधि हो। ऊ भन्दा धेरै आर्सनलले १४ पटक उपाधि जितेको छ।