पेरिस ओलम्पिक : टेबलटेनिसमा नेपालका स्यान्टु पहिलो चरणमै पराजित

28 Jul, 2024
Share:
117 Shares

पेरिस ओलम्पिक २०२४ को टेबलटेनिसमा नेपालका श्यान्टु श्रेष्ठ शनिबार पराजित भएका छन्।

साउथ पेरिस एरिना ४ मा भएको प्रिलिमिनरी राउन्डको पुरुष सिंगल्समा स्यान्टु सेनेगलका इब्राहिम डिउसँग ४–० को सोझो सेटमा पराजित भए।

‘बेस्ट अफ सेभेन’को खेलमा स्यान्टु १२–१०, ११–३, ११–४ र ११–५ ले पराजित भए। स्यान्टु इब्राहिमसँग केवल २४ मिनेटमै पराजित भए।

पहिलो सेटको नतिजा ८ मिनेटमा आफ्नो पक्षमा पारेका इब्राहिमले दोश्रो र तेश्रो जित्न समान ५–५ मिनेट लगाएका थिए।

चौथो सेट इब्राहिमले ६ मिनेटको अवधिमा जिते । पहिलो सेटमा श्यान्टु ७–३ ले अगाडि रहेको अवस्थालाई उल्ट्याउदै इब्राहिमले जित हात पारेका थिए। बाँकी सेटको नतिजा भने इब्राहिमले सहजै आफ्नो पक्षमा पारे । हारसँगै श्यान्टु प्रतियोगिताबाट बाहिरिएका छन् भने इब्राहिम राउन्ड अफ ६४ मा प्रवेश गरेका छन्।

चारपटकका राष्ट्रिय च्याम्पियन श्यान्टु दक्षिण एसियाली खेलकुदको एकै संस्करण मा ४ पदक जित्ने खेलाडी हुन्। नेपालमा भएको १३ औं सागमा श्यान्टुले टिम इभेन्टमा रजत तथा सिंगल्स, डबल्स र मिक्स डबल्समा कांस्य जितेका थिए।

पेरिस ओलम्पिकमा नेपालबाट सहभागी ७ खेलाडी मध्ये श्यान्टु छनोट चरण पार गरेर खेल्ने एकलो खेलाडी हुन्। समग्रमा भने श्यान्टु छनोट हुँदै ओलम्पिक खेल्ने तेश्रो नेपाली खेलाडी हुन्।

यसअघि छनोट चरण पार गर्दै संगीना वैद्यले २००४ को एथेन्स ओलम्पिक तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए । दुवै तेक्वान्दोका हुन्।