नेपाल क्रिकेट संघ (क्यान) राखेपाका क्रिकेट प्रशिक्षक जगत टमटालाई नेपाली राष्ट्रिय क्रिकेट टिमको कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ। आसन्न लिग–२ का क्यानडा र अमेरिकामा हुने २ सिरिजका लािग क्यानले टमटालाई कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको हो।
लिग–२का लागि क्यानडा जान लागेको नेपाली टिमको बिदाई कार्यक्रममा क्यानका सचिव पारस खड्काले क्यनडा र अमेरिका भ्रमणका लागि कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरिएको बताए। उनले दीर्घकालिन रुपमा सहायक प्रशिक्षक नियुक्त गर्नेबारे पनि छलफल भइरहेको बताए।
क्यानडामा नेपालले घरेलु टोली क्यानडा र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्नेछ। लिग–२ मा नेपालको यो दोस्रो सिरिज हो। नेपालले क्यानडासँग सेप्टेम्बर १६ र २२ तथा ओमानसँग सेप्टेम्बर १८ र २४मा खेल्ने छ।
लिग २ पछिको सिरिज सकिएपछि नेपालले ओमान र क्यानडासँगै त्रिकोणात्मक टि–२० सिरिज पनि खेल्ने छ। टि–२० सिरिजमा नेपालले सेप्टेम्बर २८ र १ अक्टोबरमा क्यानडासँग र सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ।