भलिबल लिगका लागि काठमाडौंले भित्र्यायो अर्की टर्किस सुन्दरी

27 Sep, 2024
Share:
117 Shares

असोज १४ गतेबाट सुरु हुने पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगका लागि काठमाडौं स्पाइकर्सले अर्की टर्किस खेलाडी अनुबन्धन गरेको छ। काठमाडौंले अनुभवी टर्किस खेलाडी फुलडेन उराललाई अनुबन्ध गरेको हो।

प्रतियोतिगा खेल्न आउटसाइड हिटर फुल्डेन उराल बिहीबार नै नेपाल आइपुगिसकेकी छन् । फुल्डेन बलियो आक्रामक र रक्षात्मक क्षमताका लागि परिचित छिन् ।

काठमाडौंमा आबद्ध उरला दोस्रो टर्किस खेलाडी हुन्। यसअघि काठमाडौंले २० वर्षीय टर्किस खेलाडी पेलिन एरोक्टेलाई अनुबन्धन गरेको थियो। उनी पनि नेपाल आइसकेकी छिन्।

१८६ सेन्टिमिटर उचाइकी उरालले भलिबल नेसन्स लिगलगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेलिसकेकी छिन्। उनी टर्किस भलिबल लिगकी अनुभवी खेलाडी हुन्।

काठमाडौं स्पाइकर्सकी सीओओ सुदीक्षा अधिकारीले उरालको आगमनपछि टिम बलियो बनेको बताइन्। अन्तर्राष्ट्रियस्तरमा प्राप्त उरालको अनुभवले टिमलाई धरै फाइदा हुने उनले बताइन्।

यता, उरालले नेपालमा खेल्न उत्साहित रहेको बताउँदै आफ्नो अनुभव काठमाडौंमा प्रयोग गर्ने बताइन्।

काठमाडौंले यसअघि नै बुल्गेरियाकी सेटर आन्द्रे टिसेतानोभालाई पनि अनुबन्धन गरेको छ। जगदिश भट्ट मुख्य प्रशिक्ष्ँक रहेको काठमाडौं स्पाइकर्सको मार्की खेलाडीमा राष्ट्रिय टिमकी स्पाइकर उषा भण्डारी छिन्।