जय ट्रफीमा ललितको घातक बलिङ, पुलिसविरुद्ध आर्मी १२१ रनमै अलआउट

5 Jan, 2025
Share:
117 Shares

लेफ्टआर्म स्पिनर लतिल राजवंशीले घातक बलिङ गरेपछि मल्टिडे क्रिकेट ‘जय ट्रफी मेन्स एलिट कप’को पहिलो खेलको पहिलो इनिङमा त्रिभुनव आर्मी क्लब १२१ रनमै अलआउट भएको छ।

वीरगञ्जस्थित नारायाणी क्रिकेट मैदानमा हुस्सुका करिब २ घण्टा ढिला सुरु भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मी ३४.४ ओभरमा १२१ रनमै अलआउट भयो। उसका लागि कुशल मल्लले सर्वाधिक २५ रन बनाउँदा भीम सार्कीले २२ रन बनाए।

यी दुईले चौथो विकेटका लागि ३८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यस्तै कप्तान विनोद भण्डारीले २१, पवन कार्कीले १५ रनको योगदान दिए।

आर्मीको इनिङ धरासायी बनाउने क्रममा ललित राजवंशीले ७ विकेट लिए। उनले १४.४ ओभरमा ४ मेडनसहित ४७ रन खर्चिए। यस्तै, कुशल भुर्तेल, श्रवण यादव र रसिद खानले पनि समान १ विकेट लिए।

आजै आफ्नो इनिङको सुरुआत गरेको पुलिसको सुरुआत पनि राम्रो हुन सकेन। उसका ओपनरद्वय कुशल भुर्तेल र अर्जुन साउद दुवै गोल्डेन डक भए। सोमपाल कामी र साहब आलमले विकेट लिए।

ताजा अवस्थामा पुलिस ५ ओभरको समाप्तिमा २१–२को अवस्थामा छ।