जय ट्रफीको दोस्रो दिनः आर्मी र मधेश दुवै थाले दोस्रो इनिङ

6 Jan, 2025

वीरगञ्ज र जनकपुरमा जारी दुई दिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफी एलिट कपमा आज दोस्रो दिनको खेल जारी छ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानम त्रिभुवन आर्मी र जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा मधेश प्रदेशले आफ्नो दोस्रो इनिङ थालेका छन्।

नारायणी क्रिकेट मैदानमा बिहानै नेपाल पुलिस क्लबलाई १२५ रनमा अलआउट गर्दै आर्मीले दोस्रो इनिङ थालेको छ। पहिलो इनिङमा १२१ रनमै अलआउट भएको आर्मीले दोस्रो इनिङमा ३२ ओभरमा ६ विकेटको क्षतिमा ११८ रन बनाउँदै ११४ रनको अग्रता बनाएको छ।

उसका लागि सोमपाल कामी ६१ बलमा ४१ रन बनाएर खेलिरहेका छन् भने तृतराज दासले ३४ रन बनाए। बलिङमा पुलिसका गुल्सन झाले ३ र ललित राजवंशी, रसिद खान र कुशल भुर्तेलले समान १ विकेट लिएका छन्।

त्यसअघि साहब आलमले घातक बलिङ गरेपछि पुलिस क्लब ३३.१ ओभरमा १२५ रनमै समेटियो। उसका लागि गुल्सन झाले सर्वाधिक ४७ रन बनाउँदा अमित श्रेष्ठले १८ रनको योगदान दिए। साहबले १५.१ ओभरमा ५९ रन खर्चेर ८ विकेट लिए।

यस्तै, रामजनकी मैदानमा जारी खेलमा मधेश प्रदेशले पनि आफ्नो दोस्रो इनिङ थालेको छ। बामगतीलाई १५० रनमा अलआउट गरेपछि दोस्रो इनिङ थालेको उसले ताजा अवस्थामा १२ ओभरमा २ विकेटको क्षतिमा ५६ रन बनाएको छ। उसका मयन यादवले २४ रन बनाउँदा हरिशंकर साहले ११ र रिजन यादवले १७ रन बनाए।

बलिङमा बगमतीका रिजन ढकाल र नन्दन यादवले समान १ विकेट लिए।

त्यसअघि सोमबार बिहान बागमती ३४.५ ओभरमा १५० रनमा अलआउट भयो। उसका नन्दन यादव र रिजन ढकालले अन्तिम विकेटका लागि ४१ रनको उत्कृष्ट साझेदारी गरेका थिए। जसमा नन्दनले ४७ रन बनाउँदा रिजनले १३ रन बनाए। त्यसअघि शुभ कंशकारले ३५ र कप्तान सन्दीप लामिछानेले ३३ रन बनाएका थिए।

बलिङमा मधेशका रुपेश सिंह र अविशेक तिवारीले समान ४ विकेट लिएका थिए।

दुवै खेल बराबरीतर्फ उन्मूख छ। प्रतियोगितामा ४ टिम सहभागी छन्।