तनावपूर्ण फाइनलमा मोरक्कोलाई हराउँदै सेनेगलले जित्यो उपाधि

19 Jan, 2026
Share:
117 Shares

सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । गएराति भएको फाइनलमा मोरक्कोलाई अतिरिक्त समयमा हराउँदै सेनेगलले उपाधि जितेको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको ३० मिनेटको अतिरिक्त समयअन्तर्गत ९४औं मिनेटमा पापा गुएले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए।

यसअघि निर्धारित समयको अन्तिम क्षणमा मोरक्कोलाई पेनाल्टीको मौका मिले पनि स्टार खेलाडी ब्राहिम डियाजले पेनाल्टी गोल गर्न सकेनन्। उनले पनेन्का शैलीमा हानेको कमजोर प्रहार सेनेगलका गोलकिपर एडुआर्ड मेन्डीले सजिलै बचाए।

पेनाल्टी दिइएको निर्णयको विरोधमा सेनेगलका खेलाडी केही समय मैदान छोडेर बाहिरिएका थिए। प्रशिक्षक पापे बाउना थियावको निर्देशनमा खेलाडी बाहिरिए पनि कप्तान साडियो मानेको आग्रहपछि उनीहरू पुनः मैदानमा फर्किएका थिए। भीएआर जाँचपछि पेनाल्टी दिइएको थियो, जसका कारण खेल करिब १४ मिनेट रोकिएको थियो।

यसअघि पनि सेनेगलको एक गोल फाउल भन्दै अस्वीकृत भएपछि टोली थप आक्रोशित बनेको थियो। डियाजको पेनाल्टी मिसपछि सेनेगल थप आत्मविश्वासी देखियो र अतिरिक्त समयमा निर्णायक गोल गर्न सफल भयो।

६६ हजारभन्दा बढी दर्शकको उपस्थितिमा भएको खेलमा मोरक्को फेरि पनि उपाधिबाट वञ्चित रह्यो। मोरक्कोले यसअघि अफ्रिका कप अफ नेसन्स ५० वर्षअघि मात्र एकपटक जितेको थियो।