एन्फाको भ्रष्टाचार छानविन माग गर्दै जिल्ला संघले गुहारे अख्तियार र लेखा समिति

अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको भ्रष्टाचार र अनियमिताका बारेमा थप छानविनको माग गर्दै जिल्ला संघले संसद्को लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । एन्फाको अनियमितताका बारेमा युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको छानविन समितिले दोषीलाई जोगाउने प्रयास गरेको भन्दै चार एन्फका जिल्ला संघले लेखा समिति र अख्तियारमा उजुरी दिएका हुन् ।

काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले एन्फामा भएको भ्रष्टाचार र अनियमितताको छानविनको माग गर्दै २०७५ पुस २२ गते अख्तियारमा उजुरी गरेका थिए । अख्तियारको निर्देशनपछि युवा तथा खेलकुद मन्त्रालयले सहसचिव अणप्रसाद न्यौपानेको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

छानविन समितिले पूर्वाग्रह र एकपक्षी ढंगले प्रतिवेदन तयार गरेको भन्दै पुनः अख्तियार र लेखा समिति गुहार्नु परेको ती जिल्ला संघले पत्रकार सम्मेलन गर्दै जानकारी दिए । उनीहरुले छानबिन समितिले सत्यतथ्य नबुझी एकक्षीय रुपमा प्रतिवेदन तयार गरेको र उजुरीकर्तालाई समेत जानकारी नदिई दोषीलाई संरक्षण गर्ने प्रयास गरिएकाले आफूहरु पुनः लेखा समिति र अख्तियर पुगेको बताए।

त्यसपछि अख्तियारको प्रतिवेदनको आधारमा खेलकुद मन्त्रालयले २०७६ साउन २८ गते एन्फालाई निर्णय कार्यान्वयन गराउन निर्देशन दिएको तर हालसम्म एन्फाले निर्देशन पालना नगरेको उनीहरुको आरोप छ । उनीहरुले अवैधानिक र अनियमितताविरुद्धको आवाजलाई थप सशक्त बनाउने पनि जनाएको छ ।

‘एन्फामा भएको आर्थिक अनियमिता र अवैधानिक कार्यको विरोध गर्दा अवैधानिक रुपमा जिल्ला संघमाथि नै एन्फाले षड्यन्त्रपूर्वक तरिकाले प्रहार गरिरहेको छ,’ उनीहरुले भने, ‘तर हामी चुप बस्दैनौं । एन्फाका अवैधानिक कार्यहरू नरोकिए संघर्ष समिति बनाएर संघर्षमा उत्रने छौं ।’

ती जिल्ला संघले एन्फाको अवैधानिक कार्यलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रोत्साहन दिइरहेको आरोप लगाएका छन् । उनीहरुले एन्फाको अनियमितता रोक्न राखेपसँग पनि माग गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.