त्रिदेशीय फुटबल हेर्न ७ र १५ सयको टिकट

चैत १० देखि १६ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट निर्धारण गरेको छ।

एन्फाले नेपाल, बंगलादेश र कीर्गिस्तान त्रिदेशीय फुटबका लागि टिकटको मूल्य ७ सय र १५ सय रुपैयाँ तोकेको हो। एन्फाले प्रतियोगिताका लागि साधारणतर्फ ७ सय र भिआइपीतर्फ १५ सय रुपैयाँ टिकटको मूल्य तोकेको छ।

एन्फाले प्रत्येक खेलमा १२ हजार टिकट बिक्री गर्ने लक्ष्य लिएको छ । दशरथ रंगशालाको क्षमता १५ हजार छ। प्रत्येक खेलमा एन्फाले साधारणतर्फ १० हजार ५ सय र भिआइपीतर्फ १ हजार ५ सय टिकट बेच्ने लक्ष्य लिएको छ। त्रिदेशीय प्रतियोगिता आयोजनाबाट एन्फाले १ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ।

एन्फाका अनुसार प्रतियोगिता आयोजनामा करिब १ करोड रुपैयाँ खर्च हुने छ । प्रतियोगिताको विजेताले ५ हजार, उपविजेताले ३ हजार डलर पाउने छन् भने सर्वोत्कृष्ट खेलाडीले ५ सय तथा प्लेयर अफ दी म्याचले २ सय ५० डलर पाउने छन् ।

राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन्। प्रतियोगिताका लागि बंगलादेशी टिम बिहीबार अपरान्ह नेपाल आईपुगेको छ भने कीर्तिस्तानको टिम चैत ८ गते नेपाल आइपुग्ने एन्फाले जनाएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.