एन्फा निर्वाचनकाे गतिविधि रोक्न‌ पाटन उच्च अदालतले दियाे अन्तरिम आदेश

12 Jan, 2026
Share:
117 Shares

उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ।

गोरखाका अमित खत्रीले हालेको रिट निवेदनमा न्यायाधीश कृष्णप्रसाद कार्कीको एकल इजालासले सोमबार एन्फालाई उम्मेदवारी दर्ता फारम बुझ्ने लगायत निर्वाचनसम्बन्धि कुनै पनि कार्य अगाडि नबढाउन आदेश दिएको हो।

एन्फा निर्वाचन २८ माघमा गर्ने तयारी भएको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तहगत निर्वाचन गर्दै एन्फा निर्वाचन गर्न निर्देशन दिएको थियो। तर, एन्फाले राखेपको निर्देशन अवज्ञ गर्दै निर्वाचनको कार्यतालिका अगाडि बढाएपछि खत्री उच्च अदालत पुगेका थिए।

अदालतको आदेशअनुसार खत्रीले उठाएका विषयमा तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने भन्ने सम्बन्धमा छलफल गर्न राखेपलाई सूचना दिइनेछ। सो प्रयोजनका लागि अदालतले नियमानुसार सूचना प्रकाशित गरी दुवै पक्षलाई उपस्थित गराउने व्यवस्था गर्न भनेको छ।

अदालतले लिखित जवाफ प्राप्त भएपछि अन्तरिम आदेश मागसम्बन्धी विषयमा छलफल गरी अन्तिम आदेश गर्ने जनाएको छ। साथै, सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र जवाफ पेश गर्न पनि निर्देशन दिइएको छ।