
एन्फा निर्वाचन : बी र सी डिभिजन क्लबको प्रतिनिधि छनोट आज
अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि ‘बी’ र ‘सी’ डिभिजनका क्लबको प्रतिनिधि छनोट आज हुने भएको छ। बी र सी डिभिजनको प्रतिनिधि छनोट लागि एन्फाल् गत बुधबार नै क्लबलाई पत्र पठाइसकेको छ ।
एन्फा विधान र निर्देशिका विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि चैत २४ गते प्रतिनिधि छनोट प्रक्रिया स्थगन गरिएको थियो।
एन्फा विधान र निर्वाचन निर्देशिका अनुसार वर्तमान कार्यसमितिका पदाधिकारी र तलबी कर्मचारी आफ्नो संघको निर्वाचनमा प्रतिनिधिका रुपमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।
तर, ‘सी’ डिभिजनको प्लानिङ ब्वाइज युनाइटेड अध्यक्ष लामासहित पुल्चोक स्पोर्टस् क्लबका अध्यक्ष रविन्द्र जोशी र साँघा स्पोर्टस् एकेडेमीका वरिष्ठ उपाध्यक्ष रुपेश अधिकारीले निर्वाचन प्रतिनिधिको दाबी गरेका थिए।
निर्वाचन निर्देशिका र विधान विपरितको कार्यमा संलग्न भएको जनाउँदै ‘सी’ डिभिजन क्लब ओसीसका अध्यक्ष उत्तम बस्नेतले निर्वाचन समितिसमक्ष लिखित उजुरी दर्ता गरेका थिए। उक्त उजुरीमाथि छानबिन गर्दै निर्वाचन समितिले बिहीबारको निर्वाचन प्रक्रियालाई स्थगित गरेको थियो।
लामा र अधिकारी एन्फा कार्यसमितिका सदस्य हुन् भने जोशी एन्फामा तलबी कोषाध्यक्षको रुपमा कार्यरत छन्।
एन्फाको आसन्न निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ उम्मेदवारी दिने तयारी गरेका छन्।