एन्फा प्रेसिडेन्ट कपमा चित्लाङ फुटबल क्लब विजयी, विजय युवा क्लब र लालिगुराँस क्लबले बराबरी खेले

5 Nov, 2025
Share:
117 Shares

बुधबारदेखि मकवानपुरको हेटौडामा एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता सुरु भएको छ।

राष्ट्रिय लिगको छनोटको रुपमा रहेको प्रतियोगिताको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब, काठमाडौंले विजयी सुरुवात गरेको छ।

हेटौडा–६, गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा चित्लाङले देउराली युथ क्लब, धनकुटालाई ४–१ को फराकिलो अन्तरले हरायो।

चित्लाङका लागि चन्दन दास, इशान सुब्बा, विज्ञान खड्का र मदन स्याङ्तनले गोल गरे भने देउरालीका रामचन्द्र वजीले एक मात्र गोल फर्काए। चित्लाङका जय गुरुङलाई म्यान अफ द म्याच भए।

यस्तै, आजै सम्पन्न दोस्रो खेलमा विजय युवा क्लब र लालिगुराँस संघ क्लबले गोलरहित बराबरी खेले।

यो प्रतियोगिताबाट चार टिम पुसमा काठमाडौंमा हुने राष्ट्रिय लिगमा छनोट हुने छन्।

प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भइरहेको हो।

लिग–कम–नकआउट प्रणालीमा आधारित प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।