जापान र इरान एसियन कपको क्वार्टरफाइनलमा

1 Feb, 2024

जापान र इरानले एएफसी एसियन कपको अन्तिम ८ मा स्थान पक्का गरेका छन्।

बुधबार राति भएको खेलमा जापानले बहराइनलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गर्दा इरानले सिरियालाई पेनाल्टी सूटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो।

कतारमा जारी प्रतियोगिता अन्तर्गत जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयास युएडाले एक एक गोल गरेका थिए । बहराइनको एक गोल पनि उपहार थियो। जापानको जिओनी सुजुकीले आफ्नै पोस्टमा गोल गरेका थिए।

यस्तै, अर्को खेलमा इरानले सिरियासँग एक एक गोलको निर्धारित समय बराबरी खेलेको थियो । ३४ औँ मिनेटमा मेहदी टेरामीले पेनाल्टीमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए ।

६४ औं मिनेटमा ओमार खर्बिनले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे। दोस्रो हाफको अतिरिक्त समयमा इरानका टेरामी दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्दा १० खेलाडीमा समेटिएको थियो। पेनाल्टीमा इरान ५–३ले विजयी भयो।

एसिया कपको क्वाटरफाइनलमा इरान र जापानले प्रतिस्पर्धा गर्ने छन् । बुधबार रातिको नतिजासँगै एएफसी कपको क्वाटरफाइनल समिकरण पनि पुरा भएको छ ।

शुक्रबार ताजकिस्तान र जोर्डन तथा अस्ट्रेलिया र दक्षिण कोरिया भिड्ने छन्। यसैगरी शनिबार इरान र जापान तथा कतार र उज्वेकिस्तान आमने सामने हुने छन्।