
पञ्जाब पुलिस विराट गोल्डकपको क्वार्टरफाइनलमा
गोर्खा ब्वाइज रुपेन्देहीलाई ट्राइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस विराटनगरमा जारी विराट गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको दोस्रो खेलमा रुपेन्देहीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै पञ्जाब पुलिस क्वारटफाइनलमा प्रवेश गरेको हो ।
संघर्षपूर्ण खेलमा निर्धारित र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमको एक–एक गोलको बराबारी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको थियो ।
ट्राइब्रेकरमा पञ्जाब पुलिसका सरबजीत सिंह, जितेन्द्र सिंह, बलजित सिंह र हरीदेव सिंहले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए। रुपन्देहीका शक्ति राई र गौरभ श्रेष्ठले मात्र गोल गरे । आशिष गुरूङको प्रहार भारतका गोलरक्षक सतवीर सिंहले बचाए भने अजित गुरूङको प्रहार पोस्टमा लागेर फर्कियो।
दोस्रो हाफदेखि आक्रमक भएको रुपेन्देहीले खेलको ८०औं मिनेटमा शक्ति राईले गोल गरी टिमलाई अग्रता दिलाए। लुइस भिदलले निकालिदिएको प्रिmकिक शक्तिले सदुपयोग गरेका थिए ।
दोस्रो हाफममा गोल भएपछि पञ्जाब पुलिसले दबाबमा परेको थियो । तर, रुपन्देहीका लागि अग्रताको त्यो खुसी लामो समयसम्म टिक्न सकेन । खेलको अन्त्य तिरमा रुपन्देहीका खेलाडी समालिन नसक्दा ९०औं मिनेटमा भारतका जितेन्द्र सिंहले हेडमार्फत गोल गरी खेल बराबरीमा ल्याए । सरबजीत सिंहले निकालिएको पासलाई जितेन्द्रले हेडमार्फत जाली चुमाए ।
शनिबार विराटनगर महानगरपालिका–११ र युनाइटेड फुटबल क्बल पश्चिम बंगालबीच प्रतिस्पर्धा हुनेछ । विराटनर–११ ले उद्घाटन खेलमा पाहुना टोली भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई २–१ गोलले हराएको थियो ।