चैत दोस्रो सता विराटनगरमा भएको सातौं दिवा–रात्रि विराट गोल्डकपमा आयोजकलाई ८७ लाख रुपैयाँ घाटा भएको छ। शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिले ८७ लाख एक हजार ४८ रुपैयाँ घाटा लागेको जनाएको हो।
उक्त घाटा बराबरको रकम आयोजक समितिका संयोजक र सहसंयोजकले व्याक्तिगत रुपमा बेहोर्ने बताइएको छ। विराट गोल्डकप ट्रष्टले सञ्चालन गरेको प्रतियोगितको संयोजकमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र सहसंयोजकमा उनका भाइ तथा स्पोट्रस उद्यमी सुभाशिष कोइराला थिए।
प्रतियोगितामा कुल आम्दानी एक करोड ३३ हजार रुपैयाँ हुँदा एक करोड ८७ लाख ३४ हजार खर्च भएर आयोजकलाई ८७ लाख घाटा भएको सहसंयोजक कोइरालाले शुक्रबार सञ्चारकर्मीलाई जानकारी दिए ।
प्रतियोगिताका लागि महानगरपालिकाबाट १२ लाख, प्रदेश समाजिक विकास मन्त्रालयबाट १२ लाख, राखेपबाट १२ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध भएको कोइरालाले बताए । उनका अनुसार मूख्य प्रायोजकबाट ८ लाख, प्रायोजकहरुबाट ४ लाख, सहप्रायोजकबाट ४ लाख, पार्टनर प्रायोजकहरुबाट ६ लाख ७५ हजार र टिकट बिक्रीबाट ४१ लाख ५८ हजार एक सय रुपैयाँ आम्दानी भएको थियो ।
प्रतियोगिताको विजयी टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएका थिए । प्रतियोगिताको उपाधि आयोजक विराट फुटबल सिटीले जित्दा भारतको लुका सकर फुटबल क्लब केरला उपविजेता रहेको थियो ।
प्रतियोगिता सञ्चालनका क्रममा ८७ लाख रुपैयाँ घाटा भए पनि आगामी दिनमा प्रतियोगिता आयोजना र सञ्चालनका नाममा आफू भागेर नहिँड्ने कोइरालाले बताए । प्रतियोगितामा दर्शकले साथ नदिनु र स्थानीय संघ संस्थाले पनि भरपुर सहयोग नगर्नु प्रतियोगिता घाटामा जाने प्रमुख कारण भएको कोइरालाको दाबी छ ।
यो प्रतियोगिताका अघिल्ला सबै संस्करणमा आयोजकले नाफा कमाएर गोल्डकप ट्रष्टको खातामा जम्मा गरेका थिए । ट्रष्टको खातामा १८ लाख मौज्जाद रहेको ट्रष्टका सदस्य वसन्त अर्यालले बताए ।