
चेल्सी र लेस्टर एफए कपको चौथो चरणमा
प्रिमियर लिग क्लबद्वय चेल्सी र लेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा चेल्सीले चेस्टरफिल्डमाथि ५–१ को जित निकाल्यो भने लेस्टरले वाट्फोर्डलाई ४–१ ले हरायो ।
घरेलु मैदानमा चेल्सीले लिग टुको टोली चेस्टरफिल्डमाथि ५–१ को जित निकाल्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोलीको जितमा टिमो वेर्नर, कलुम हड्सन ओडोई, रोमेलु लुकाकु, एन्ड्रिएस क्रिस्टेन्सेन र हाकिम जियाचले गोल गरे। चेस्टरफिल्डका एकवासी एसान्टेले एक गोल फर्काए।
खेलको छैटौं मिनेटमा टिमो वेर्नरको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो। १८औं मिनेटमा कलुम हड्सन ओडोईले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।
त्यसपछि २०औं मिनेटमा रोमेलु लुकाकु तथा ३९औं मिनेटमा एन्ड्रिएस क्रिस्टेन्सेन गोल गरेपछि चेल्सी पहिलो हाफमै ४–०को अग्रता लियो। ५५औं मिनेटमा हाकिमी जियाचले गोल गर्दै चेल्सीलाई ५–० ले अघि बढाए। ८०औं मिनेटमा एकवासी एसान्टेले एक गोल फर्काएपनि हार टार्न सकेनन्।
शनिबार राति सम्पन्न खेलमा लेस्टरले वाट्फोर्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा युरी टिलेमान्सले सातौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए। खेलको २५ औं मिनेटमा जेम्स म्याडीसनले गोल गर्दै लेस्टरलाई २–० को स्थितिमा पुर्याए। २७ औं मिनेटमा पेड्रोले गोल गर्दै वाट्फोर्डलाई २–१ को स्थितिमा ल्याए ।
५४ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई ३–१ को अग्रता दिलाए। त्यसपछि खेलको ८५ औं मिनेटमा मार्क अल्ब्राइटनले गोल गर्दै लेस्टरलाई ४–१ को जित दिलाए।
एफए कपअन्तर्गत शनिबार नै भएको खेलमा क्रिस्टल प्यालेसले मिलवाललाई २–१ ले हराएको छ। न्युकासल युनाइटेड भने क्याम्ब्रिज युनाइटेडसँग १–० ले पराजित भएको छ।