फिफा वेस्ट अवार्डमा मेसीलाई हालान्ड र एम्बाप्पेको चुनौती

15 Dec, 2023

यो वर्षको फिफा वेस्ट अवार्डका लागि अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई फ्रेन्स स्ट्राइकर किलियन एम्बाप्पे र म्यान्चेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले चुनौती दिनेछन्।

फिफाले गतवर्ष गरेको प्रदर्शनका आधारमा मेसी, एम्बाप्पे र हालान्डलाई बिहीबार राति फिफा वेस्ट अवार्डको उत्कृष्ट तीनको सूचीमा राखेको हो। सूचीमा रहेका १२ खेलाडीबाट प्रशिक्षक, कप्तान र फुटबल पत्रकारका साथै फ्यानहरुको भोटका आधारमा उनीहरु छनोट भएका हुन्।

सन् २०२२मा कतारमा भएको विश्वकपमा मेसीको उत्कृष्ट प्रदर्शन मद्दतमा अर्जेन्टिनाले विश्वकप जितेको थियो। मेसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पनि बनेका थिए। सोही प्रदर्शनका आधारमा मेसीले आठौं पटक बालोन डे’ओर अवार्ड पनि जितेका थिए।

यो अवार्डका लागि मेसीलाई दुई युवा स्ट्राइकर एम्बाप्पे र हालान्डले कडा चुनौती दिनेछन्। एम्बाप्पेकै उत्कृष्ट प्रदर्शन मद्दतमा फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनल पुगेको थियो। उनले फाइनलमा ह्याट्रिक गरेपनि फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

यता, राष्ट्रिय टिमबाट खासै सफलता नपाएका नर्वेजिनय स्ट्राइकर हालान्डले इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई ट्रेबल उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनको अद्धितीय प्रदर्शन मद्दतमा सिटीले लगातार तेस्रो पटक लिग उपाधि जितेको थियो भने पहिलो पटक च्याम्पियन्स लिग उपाधि पनि जितेको थियो। यस्तै, उसले एफए कप पनि जितेको थियो।

युरोपिएन गोल्डेनबुट र प्रिमियर लिगको गोल्डनेबुट जितेका हालान्डले अघिल्लो सिजन सिटीका लागि ५३ खेलमा ५३ गोल गरेका थिए।

यस्तै, फिफा वेस्ट महिला खेलाडीका लागि स्पेनका विश्वविजेताद्वय आइताना बोनमाटी र जेनिफर होर्मवसोसहित कोलम्बियाका लिन्डा काइसेडोबीच प्रतिस्पर्धा हुनेछ।