
फिफा र्याङकिङमा ब्राजिल नै नम्बर १ , च्याम्पियन अर्जेन्टिना दोस्रो
आइतबार राति कतारस्थित लुसेल रंगशालामा भएको फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जित्यो। तर, विश्वकप सकिएको २ दिनपछि फिफाले सर्वाजनिक गरेको र्याङकिङमा भने ब्राजिल नै नम्बर १ मा रहेको छ।
ब्राजिलि फिफा विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। उ क्वार्टरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउट ४–२ले पराजित भएको थियो। ब्राजिल विश्वकपअघि पनि नम्बर १ मै थियो। उ गत फेब्रुअरीदेखि नम्बर १ मा रहँदै आएको छ।
यता, अर्जेन्टिना विश्वकप उपाधि जिते पनि फिफा ¥याङकिङमा नम्बर १ मा पुग्न सकेन्। उ दोस्रो स्थानमा छ। यस्तै, उपविजेता बनेको फ्रान्स तेस्रो स्थानमा छ। दुवै टिम एक स्थान माथि उक्लिएका हुन्।
कतार विश्वकपको समूह रचणबाटै बाहिरिएको बेल्जिम चौथो स्थानमा झरेको छ। विश्वकप सुरु हुनुअघि उ दोस्रो स्थानमा थियो ।
क्वार्टरफाइनलबाटै बाहिरिएका इंग्ल्यान्ड र नेदरल्यान्ड्स क्रमश पाँचौं र छैठौं स्थानमा छन्। वरियतामा इंग्ल्यान्ड यथावत रहँदा नेदरल्यान्ड्स २ स्थानमाथि उक्लिएको हो।
यता, लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्दै तेस्रो बनेको क्रोएसिया ५ स्थान माथि उक्लँदै सातौं स्थानमा आइपुगेको छ। उ सेमिफाइनमा अर्जेन्टिनासँग ३–०ले पराजित भएको थियो भने मोरक्कोलाई २–१ले हराउँदै तेस्रो बनेको थियो।
विश्वकपमा छनोट हुन नसकेको इटाली दुई स्थान तल झरेर आठौं स्थानमा झरेको छ भने पोर्चुगल नवौं स्थानमा यथावत रहँदा समूह चरणबाटै बाहिरिएको स्पेन तीन स्थान तल झरेर १०औं स्थानमा आइपुगेको छ।
सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बनेको मोरक्को र पहिलो पटक नकअकाउट पुगेको अष्ट्रेलियाले समान ११ स्थान सुधार गरेका छन। मोरक्को २७औं स्थानमा रहँदा अस्ट्रेलिया ३८औं स्थानमा आइपुगेको छ।
यस्तै समूह चरणमा ब्राजिललाई हराएको क्यामरून पनि १० स्थान माथि उक्लँदै ३३ औं स्थानमा पुग्दा अमेरिका ३ स्थान माथि उक्लिएर १३औं र मेक्सिको २ स्थान तल झरेर १५ औं स्थानमा पुगेको छ।