
२०२६को विश्वकपमा ४८ राष्ट्र, समूहमा तीन टिम
चार वर्षपछि २०२६ को विश्वकप उत्तर अमेरिकामा आयोजना हुने छ। क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्न लागेको यो विश्वकपमा अहिलेसम्मका विश्वकप भन्दा फरक हुनेछ।
यो विश्वकपम ४८ राष्ट्रको सहभागीता हुने फिफाले यसअिघ नै घोषणा गरिसकेको छ।
यसअघि ३२ टिमले ८ समूहमा विभाजन गरिँदै आएकोमा २०२६मा ४८ टिमलाई समूहमा विभाजन गर्ने योजना फिफाको छ। जसअनुसार प्रत्येक समूहमा ३ टिम रहनेछन्।
कतार विश्वकपमा देखिएको समूह चरणको कडा प्रतिस्पर्धापछि आफूहरु समूह तीन टिममात्र राख्ने सोचमा पुगेको फिफा अध्यक्ष जियानी इन्फान्टिनाले बताएका छन्।
‘कतार विश्वकपमा समूह चरणका धेरै खेल रेफ्रीले अन्तिम सिटी नफुकेसम्म को टोली छनोट हुने निर्णयका लागि कौतूहल र रोमाञ्चक बनेको थियो । ‘एउटा समूहमा चार टोलीको प्रतिस्पर्धा निश्चय नै अविश्वसनीय रह्यो । अन्तिम खेलको अन्तिम मिनेटसम्म यसले रोमाञ्चकता दिएको थियो,’ अध्याक्ष इन्फान्टिनोले भनेका छन्।
उनले भनेका छन्, ‘अब हामीले यो ढाँचालाई पुनः हेर्नुपर्छ वा कम्तीमा फेरि छलफल गर्नुपर्छ, चाहे त्यो ३ टोलीको १६ समूह होस् वा ४ टोलीको १२ समूह । यो आगामी केही साता एजेन्डा हुनेछ ।’
इन्फान्टिनोले सन् २०२६ को विश्वकपलाई युरोपियन च्याम्पियनसिपको मोडलमा ल्याउन खोजिएको पनि जनाए । युरोपियन च्याम्पियनसिपमा ६ समूहमा ४–४ टोली राखिएको हुन्छ । समूहका शीर्ष दुई टोलीसहित चार शीर्ष तेस्रो हुने टोलीले पनि नकआउट चरणमा खेल्ने गरेका छन् ।
समूहमा तीन टिम भए समूहका शीर्ष टिमले नकआउटमा स्थान बनाउने छन् । यस्तै, १२ समूह र समूहमा ४ टिम भए समूहका शीर्ष १२ र दोस्रो हुने उत्कृष्ट ४ टिम नकआउट पुग्ने छन्।
यस विश्वकपबाट फिफालाई ७ अर्ब ५० करोड डलर नाफा भएकोमा विश्वकप सहभागी संख्या बढाएकाले पनि २०२६ मा ११ अर्ब डलर नाफा हुने प्रक्षेपण गरिएको छ । अर्को विश्वकपदेखि सहभागी राष्ट्रको संख्या बढाइएको, रंगशाला निर्माणको पूर्वाधार र उत्तर अमेरिकी बजारको आकारका कारण आम्दानीको स्रोत बढ्न लागेको इन्फान्टिनो जनाउँछन् ।