टिम राम्रो छ, नतिजा पनि राम्रै हुने अपेक्षा छ : कप्तान मनिष डाँगी

9 Feb, 2024

काठमाडौं चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली यू–२३ टिमले चिनियाँ युवा टिमसँग शनिबार दशरथ रंगशालमा मैत्रीपूर्ण खेल खेल्दै छ। नेपाली यू–२३ टिमले चीनको चिङ्घाइ फुटबल क्लबको युवा टिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

शुक्रबार दशरथ रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका कप्तान मनिष डाँगी टिम राम्रो रहेकाले नतिजा पनि राम्रै हुने अपेक्षा रहेको बताए। ‘ट्रेनिङका लागि ८ दिनको मात्र समय पाएपनि तयारी राम्रो भयो,’ उनले भने, ‘मसहित लकेन, आयुषजस्ता अनुभवी र केही नयाँ खेलाडी छन्, टिम राम्रो, त्यसैले नतिजा पनि राम्रो आउँछ।’

पहिलो पटक नेपाली टिमको कप्तानी गरिरहेका मनिषले कप्तानी भन्दा पनि खेलमा फोकस गरिरहेको बताए। उनले सबै खेलाडीको ध्यान भोलिको खेलमा रहेको बताए।

त्यस्तै मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले खेलाडीहरुले प्रशिक्षणका क्रममा राम्रो गरेकाले नतिजा पनि राम्रो आउने अपेक्ष गरेको बताए। उनले यो खेल नेपाली फुटबलको भविष्यका लागि पनि महत्वपूर्ण हुने जनाए।

त्यस्तै चिनियाँ युवा टोलीका प्रशिक्षक तथा खेलाडीले मैत्रीपूर्ण खेललाई निकै उत्साहका रुपमा लिएको र नतिजा राम्रो आउने बताएका थिए।

चिनियाँ नयाँ वर्षको अवसरमा नेपालस्थित चिनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो।