लिओनल मेसीले फेरि एकपटक सानदार प्रदर्शन गरेपछि इन्टर मियामी सिन्सिनाटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युएस ओपन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
लिग्स कपको उपाधि जितेको एक साता नबित्दै मेसीको कप्तानीमा रहेको इन्टर मायमी लगातार दोस्रो प्रतियोगितामा फाइनलमा प्रवेश गरेको हो। निर्धारित ९० मिमनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल ३-३ को बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो।
६८ मिनेटसम्म दुई गोलले पछि परेको इन्टर मायमीका लागि मेसीले उत्कृष्ट प्रदर्शन गरे। उनकै पासमा लियोनार्दो काम्पनाले ६८औं र इन्जुरी टाइममा गोल गरेपछि इन्टर मायमीले खेल बराबरीमा पुर्याएको थियो।
त्यसपछि अतिरिक्त समयमको तेस्रो मिनेटमा जोसेफ मार्टिनेजले गोल गरी इन्टर मयामीलाई ३-२ को अग्रता दिलाएका थिए । तर युया कुबोले सिन्सिनाटीका लागि बराबरी गोल फर्काएपछि खेल ३-३ को रोमाञ्चक अवस्थामा पुग्यो।
पेनाल्टीसुटआउटमा इन्टर मायमीका गोलकिपर ड्रयाक क्यालेन्डर फेरि नायक बने। उनले सिन्सिनाटीका अन्तिम पेनाल्टी प्रहार गरेका निक हागलन्डको प्रहार बचाएका थिए । त्यसपछि बेन्जामिन क्रेमासीले अन्तिम पेनाल्टी प्रहार गोलमा परिणत गर्दै इन्टर मियामीलाई ५–४ को जित दिलाए।
इन्टर मायमीका लागि पहिलो पेनाल्टी प्रहार गरेका मेसीले गोल गरेका थिए।
अब इन्टर मियामीले यूएस ओपन कपको उपाधिका लागि ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल खेल सेप्टेम्बर २७ मा हुनेछ।