इटहरी गोल्डकप : भारतीय टोलीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा

17 Apr, 2026
Share:
117 Shares

सुनसरीको इटहरीमा जारी १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कपको अन्तिम क्वार्टर फाइनल खेलमा जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति सम्पन्न खेलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) लाई ३–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज अन्तिम चारमा पुग्न सफल भएको हो।

बुढासुब्बा गोल्ड कपको हालैको च्याम्पियन समेत रहेको प्लानिङ ब्वाइजको जितमा कप्तान फागुराम थारुले दुई तथा धिरेन्द्र शाहले एक गोल गरेका छन्।

खेलको पाँचौँ मिनेटमा युकेएफसीका दिवस रोयले धिरेन्द्र शाहलाई डी–एरियामा लडाएपछि फिफा रेफरी उमेश बिडारीले प्लानिङ ब्वाइजलाई पेनाल्टीको अवसर दिएका थिए। उक्त अवसरलाई कप्तान फागुरामले सहजै गोलमा परिणत गरे।

२३औँ मिनेटमा फागुरामले विपक्षी गोलकिपरलाई बिट गर्दै व्यक्तिगत दोस्रो गोल गरे।

यस्तै २७औँ मिनेटमा डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै धिरेन्द्रले गोल थपेपछि प्लानिङ ब्वाइजले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो।

खेलको ५९औँ मिनेटमा युकेएफसीका निवास राणाले एक गोल फर्काए पनि टोलीको हार टार्न पर्याप्त भएन।

उत्कृष्ट प्रदर्शन गरेका फागुराम थारु खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो सेमिफाइनल खेलमा युवा समाज र साबिक विजेता मच्छिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

आगामी वैशाख ७ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।