एट्लेटिकोमाथि जिरोनाको जित, मोराटाको ह्याट्रिक काम लागेन

4 Jan, 2024

जारी सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको जिरोनाले ला लिगामा अर्को जित निकालेको छ। बुधबार राति भएको खेलमा जिरोनाले एट्लेटिको मड्रिडमाथि ४–३को रोमाञ्चक जित निकाल्यो।

यो जितसँगै जिरोनाले शीर्ष स्थानको रियल मड्रिडलाई निरन्तर दबाबमा राख्न सफल भएको छ। दुवै समान १९ खेलमा समान ४८ अंक छ। एट्लेटिको मड्रिड भने ३८ अंकका तेस्रो स्थानमा छ।

खेलको दोस्रो मिनेटमै जिरोनाले अग्रता लियो। उसका कप्तान वालेरी फर्नान्डेजले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए। १४औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई बराबरीमा ल्याए।

ब्राजिलियन विंगर साभियो मुरेराले २६औं मिनेटमा गोल जिरोनालाई पुनः अग्रता दिलाए। ३९औं मिनेटमा डेली ब्लाइन्डले गोल गरेपछि खेलमा जिरोनाले ३–१ को अग्रता लियो।

मोराटाले ४४औं गोल गर्दै पहिलो हाफमा खेलालाई ३–२को अवस्थामा ल्याए। दोस्रो हाफका सुरुआतमै एट्लेटिकोले बराबरी गोल फर्कायो। ५४औं मिनेटमा उसका मारोटाले नै गोल गरेका थिए।

तर, दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा इभान मार्टिनले गोल गरेपछि जिरोना ४–३ को जित निकाल्न सफल भयो। यता, मोराटाले ह्याट्रिक गरेपनि टिमलाई जित दिलाउन सकेनन्।