रियल शीर्ष स्थानमा उक्लियो, बार्सिलोना पराजित

28 Jan, 2024

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा लस पाल्मसलाई उसकै मैदानमा २–१ले हराउँदै रियल शीर्ष स्थानमा उक्लिएको हो।

रियलले १ गोलले पछि परेको अवस्था उल्टाउादै पुनरागमन जित निकालेको हो। रियलका लागि भिनिसियस जुनियर र ओरालेन चुआमेनीले गोल गरे भने लस पाल्मसका जाभियर मुनोजले गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५३औं मिनेटमा काउन्टरमा मुनोजले गोल गर्दै पाल्मसलाई अग्रता दिलाए। ६५औैं मिनेटमा भिनिसियसले कामाभिङ्गाको पासमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए। ८४औं मिनेटमा चुआमेनीले टोनी क्रुसको कर्नरमा हेडिङमार्फत गोल गर्दै रियललाई जित दिलाए।

यता, ला लिगाकै अर्को खेलमा बार्सिलोना भने पराजित भएको छ। ८ गोल भएको खेलमा बार्सिालेना क्याम्प नेउमा भिल्लारियलसँग ५–३ले पराजित भयो। भिल्लारियलले इन्जुरी समयमा २ गोल गर्दै बार्सिलोनालाई उसकै मैदानमा स्तब्ध बनायो।

४१औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई सुरुआती अग्रता दिलाए। ५४औं मिनेटमा इलिआस अखोमाचले टिमको अग्रता दोब्बर बनाए। तर, त्यसपछि ११ मिनेट अन्तरमा ३ गोल गर्दै बार्सिलोना खेलमा फर्कियो।

बार्सिलोनाका लागि ६०औं मिनेटमा इल्के गुन्डोगान, ६८औं मिनेटमा पेड्रीले गोल गरेका थिए भने ८१औं मिनेटमा भिल्लारियलका इरिक बेलीले आत्मघाती गोल गरेपछि बार्सिलोनाले ३–२को अग्रता लिएको थियो । तर, ८४औं मिनेटमा गोन्सालो गुइडेसले गोल गर्दै खेलालाई ३–३को बराबरीमा ल्याए।

त्यसपछि इन्जुरी समयमा २ गोल गर्दै भिल्लारियल विजयी भयो। एलेक्जाडर सोर्लोथले नवौं र जोसे लुइस मोरालेसले १२औं मिनटमा गोल गरेका थिए।

२१ खेलमा ५४ अंक जोड्दै रियल मड्रिड शीर्ष स्थानमा छ। समान खेलेको जिरोना ५४अंकसहित दोस्रो र बार्सिलोना ४४ अंकसहित तेस्रो स्थानमा छ। ३१ अंकसहित लस पाल्मस नवौं स्थानमा रहँदा भिल्लारियल २३ अंकसहित १४औं स्थानमा छ।