
ओसासुनामाथि रियलको जित, रोकियो एट्लेटिको
स्पेनिस ला लिगामा रियल मड्रिडले सहज जित निकालेको छ। बुधबार राति भएको खेलमा खेलमा रियलले ओसासुनालाई उसकै मैदानमा ३–१ले हरायो।
रियलको जितमा डेभिड अलाबा, मार्को ओसेन्सियो र लुकास भास्क्वेजले गोल गर्दा ओसासुनाका एन्टे बुडमिरले गोल गरे।
१२औं मिनेटमा अलाबाको गोलमा रियलले अग्रता लियो। त्यसको एक मिनेट नबित्दै ओसासुनाले बराबरी गोल फर्कायो । उसका बुडिमिरले गोल गरेका थिए।
पहिलो हाफको अन्तिम मिनेटमा ओसेन्सियोले गोल गर्दै खेलमा रियललाई पुनः अग्रता दिलाए। दोस्रो हाफको इन्जुरी समयको छैठौं मिनेटमा भास्क्वेजले गोल गरेपछि रियलले ३–१को सहज जित निकाल्यो।
यसैगरी अर्को खेलमा एट्लेटिको मड्रिड भने बराबरीमा रोकिएको छ। एट्लेटिको रेलिगेसन जोनमा रहेको ग्रानडासँग गोलरहित बराबरीमा रोकिएको हो।
यस्तै, भिल्लारियलले भ्यालेन्सियामाथि २–०को जित निकाल्दा गेटाफेले पनि सेल्टाभिगोलाई २–०ले नै हरायो।
जितपछि रियलले शीर्ष स्थानमा १७ अंकको अग्रता बनाएको छ। ३३ खेलमा रियलको ७८ अंक छ भने ३३ खेलमै एट्लेटिकोे ६१ अंक जोडेको छ। यता, २ खेल कम खेलेको बार्सिलोना ६० अंकसहित तेस्रो स्थानमा छ।