एट्लेटिको मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति घरेलु मैदानमा भएको खेलमा अतिरिक्त समयमा रियल मड्रिडलाई ४–२ ले हराउँदै एट्लेटिकोले क्वार्टरफाइनलमा स्थान बनाउको हो।

निर्धारित ९० मिनेटको खेल २–२ को बराबरी भएपछि अतिरिक्त ३० मिनेट समय थप गरिएको थियो। ३० मिनेटमा गोल गर्दै एट्लेटिको विजयी भयो।

उसका लागि एन्टोइन ग्रीजमनले १००औं तथा रोड्रिगेज रिकेल्मीले ११९औं मिनेटमा गोल गरेका थिए।

त्यसअघि एट्लेटिकोले दुई पटक अग्रता लिए पनि रियलले बराबरी गोल फर्काएको थियो। डिएस लिनोले ३९औं मिनेटमा एट्लेटिकोलाई अग्रता दिलाएका थिए तर एट्लेटिकोका किपर जोन ओब्लाकले आत्मघाती गोल गरेपछि रियल खेलमा फर्केको थियो।

त्यसपछि अल्भारो मोराटाले ५७औं मिनेटमा गोल गर्दै फेरि एट्लेटिकोलाई अग्रता दिलाएका थिए तर रियलका जोसेलुले ८२औं मिनेटमा बराबरी गोल गरे।

८ दिनभित्रै दुई मड्रिड क्लबबीच दुई प्रतिस्पर्धात्मक खेल भएको हो। साउदी अरेबियामा भएको स्पानिस सुपर कपको सेमिफाइनलमा रियलले एट्लेटिकोलाई अतिरिक्त समयमै ५–३ ले पराजित गरेको थियो।

यस्तै, बार्सिालेना पनि क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति नै भएको खेलमा बार्सिलोनाले युनियोनिस्टास डे सालामान्सालाई ३–१ले हरायो।

Back To Top