
लिभरपुलमाथि सिटीको सानदार जित
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले डिफेन्डिङ च्याम्पियन लिभरपुलमाथि उसकै मैदानमा ४–१को सानदार जित निकालेको हो ।
एन्डफिल्डमा लिभरपुलको यो ६५ वर्षयताकै खराब प्रदर्शन हो । लिभरपुल घरेलु मैदानमा सन् १९५६ पछि लगातार तीन खेलमा पहिलो पटक पराजित भएको हो । सिटीभन्दा अघि यसअघि लिभरपुल एन्फिल्डमा बर्नली र ब्राइटनसँग समान १–०ले पराजित भएको थियो ।
सिटीको जितमा इल्के गुन्डगनले दुई गोल गरे भने रहिम स्टर्लिङ र फिल फोडेनले गोल गरे । लिभरपुलका लागि मोहम्मद सलाहले गोल फर्काएका थिए।
खेलको ३६ औं मिनेटमा रहिम स्टर्लिङलाई फाविन्होले डिबक्सभित्र लडाएपछि सिटीले पेनाल्टी पाएको थियो। तर, गुन्डगनले पेनाल्टीमा गोल गर्न असफल रहे । पहिलो गोलरहित बराबरीमै सककियो ।
४९ औं मिनेटमा गुन्डगनले नै सिटीलाई सूरुवाती अग्ता दिलाए । तर, ६३औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। डिबक्सभित्र रुबेन डियासले सलाहलाई लडाएपछि लिभरपुलले पेनाल्टी पाएको थियो।
७३औं मिनेटमा गुन्डगनले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए भने ७६औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई ३–१ गोलको अग्रता दिलाए। ८३ औं मिनेटमा फोडेनले गोल गरेपछि सिटीले लिभरपुलविरुद्ध ४–१ गोलको फराकिलो जित निकालेको हो।
लिगको शीर्ष स्थानमा रहेको सिटीले २२ खेलबाट ५० अंक बनाएको छ। पराजित लिभरपुलको भने २३ खेलबाट ४० अंक छ। जितपछि सिटीले चौथो स्थानको लिभरपुलसँग १० अंकको अग्रता बनाएको छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग ५ अंकको अग्रता बनाएको छ। युनाइटेडको २३ खेलबाट ४५ अंक छ।