सहआयोजक क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे। खेलको ५०औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए।
कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गरेका थिए। उनै ओउनाहीले खेलको ८२औं मिनेटमा गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाए।
दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल गर्दै मोरक्कोलाई ३–० को सहज जितमा पुर्याए। क्यानडाले मोरक्कोभन्दा बढी सर्ट प्रहार गरेपनि गोल भने गर्न सकेन। बल पोजिसनमा मोरक्को अघि रह्यो।
सातौंपटक विश्वकप खेलिरहेको मोरक्को दोस्रोपटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो। यसअघि सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। मोरक्को दुईपटक क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकन टोली हो।
