नवीन न्यौपाने बने महिला फुटबल टिमको मुख्य प्रशिक्षक

26 Sep, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।

बिहीबार नै न्यौपानेले नियुक्ती पत्र पनि बुझिसकेका छन्। एन्फाले न्यौपानेलाई आगामी साफ च्याम्पियनसिपसम्मका लागि महिला फुटबल टिमको जिम्मेवारी दिएको हो।

यस्तै, एन्फाले भगवती खत्री र राजकुमार केसी सहायक प्रशिक्षक बनाएको छ। टोली व्यवस्थापकमा बिन्द्रा देवान, फिजियोथेरापिस्टमा शिला गिरी र किट व्यवस्थापकमा बिकाश गुरुङलाई नै निरन्तरता दिइएको छ।

एएफसी एसियन कप छनोटका दौरान नयाँ प्रशिक्षक नियुक्त भएका प्याट्रिक डे वाइल्डले प्रतियोगितालगत्तै राजीनामा दिएपछि सो पद खाली थियो। कप्तान चयनको विषयमा एन्फासँग उनको विवाद भएको थियो।

नवीनले अहिले यू २३ पुरुष टिमको प्रशिक्षक थिए। उनकै प्रशिक्षणमा नेपालले एएफसी यू २३ एसियन कप छनोट खेलेको थियो।

नेपाली महिला टोलीले आगामी महिना सिक्किममा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने छ ।