वाफ वुमन्स च्याम्पियनसिपका लागि नेपाली टोलीको बिदाइ, आजै साउदी जाने

16 Feb, 2024

साउदी अरेबियामा फेब्रअरी १९ देखि हुने वाफ वुमन्स च्याम्पियनसिप खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एक कार्यक्रम गर्दै टोलीको बिदाइ गरेको हो।

नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राईलगायतले बिदाइ गरे ।

एन्जिल तुम्बापो सुब्बाको कप्तानी र राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको नेपाली टिम आजै साउदी जाने छ।

नेपाली टोलीलाई आमन्त्रित टिमको प्रतियोगिता खेल्न लागेको हो। यो फरक प्रतियोगिता भएको र यसले महिला टिमलाई थप एक्पोजर प्राप्त हुने अध्यक्ष नेम्वाङले बताए। भारतमा लिग खेलेर आएका खेलाडी र फ्रेन्च लिग खेलिरहेकी सावित्रा भण्डारी टिममा हुँदा त्यसले अझ फाइदा पुग्ने नेम्वाङले बताए।

८ टोलीको सहभागिता रहने उक्त प्रतियोगितामा नेपाल समूह बी मा छ। यो समूहमा नेपालसँगै प्यालेस्टाइन, सिरीया र इराक छन्।

नेपालले पहिलो खेल सिरियासँग फेब्रुअरी २० मा खेल्ने छ भने फेब्रुअरी २२ मा ईराक र फेब्रुअरी २४ मा प्यालेस्टाइनसँग खेल्ने तालिका छ।

नेपाली टोली : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना रानामगर, उषा नाथ (गोलकिपर), अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, सविना चौधरी (डिफेन्डर), अनिता केसी, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही, सरस्वती हमाल, चन्द्रा भण्डारी (मिडफिल्डर), सविता रानामगर, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, अमिसा कार्की (स्ट्राइकर)।