मड्रिड डर्बीमा जित निकाल्दै रियल सुपर कपको फाइनलमा

11 Jan, 2024

रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति साउदी अरेबियामा भएको ८ गोल भएको थ्रीलर मड्रिड डर्बीमा एट्लेटिकालाई ५–३ले हराउँदै रियल फाइनलमा पुगेको हो।

निकै रोमाञ्चक बनेको खेलको निर्धारित समय ३–३को बराबरीमा सकिएको थियो। तर, थप गरिएको समयको अन्त्यतिर २ गोल गर्दै रियल विजयी भयो। इन्जुरी समयका रियलका जोसेलु र ब्राहिम डियाजले गोल गरेका थिए।

त्यसअघि छैटौं मिनेटमै मारियो हर्मोसोको गोलमा खेलमा एट्लेटिको अग्रता लियो । तर, २०औं मिनेटमा एन्टोनियो रुडिगरले रियलका लागि बराबरी गोल फर्काए।

२९औं मिनेटमा फर्लान मेन्डीले गोल गर्दै खेलमा रियललाई पहिलो पटक अग्रता दिलाए। ३७औं मिनेटमा एकल प्रयासमा एन्टोइन ग्रिजमनले उत्कृष्ट गोल गर्दै खेलालाई बराबरीमा ल्याए। यो गोलसँगै ग्रिजमन एट्लेटिको मड्रिडका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने। उनले १७४ गोल गरेका छन्।

७८औं मिनेटमा रियलका रुडिगरले आफ्नै पोस्टमा गोल गरेपछि एट्लेटिकोले खेलमा अग्रता लियो। तर, ८५औं मिनेटमा डानी कार्भाजलले गोल गर्दै खेललाई अतिरिक्त समयमा लगेका थिए।

अतिरिक्त समयको अन्त्यतिर रियलले २ गोल गरेको थियो। ११६औं मिनेटमा जोसेलुले गोल गर्दै रियललाई अग्रता दिलाए। अन्तिरिक्त समयको पनि इन्जुरी समयमा ब्राहिम डियाज काउन्टरमा गोल गर्दै टिमलाई ५–३को जित दिलाए।

अब रियलले उपाधिका लागि बार्सिलोना र ओसासुनाबीचको विजेतासँग खेल्ने छ। यी दुई आज भीड्दै छन्।