१५ खेलपछि रियलको हार, एट्लेटिकोको सहज जित

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल मड्रिड गेटाफेसँग पराजित भएको छ। आइतबार राति सम्पन्न खेलमा रियल गेटाफेसँग १–० ले पराजित भएको छ।

यो सँगै रियलको १५ खेलसम्मको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ। रियल ३ अक्टोवर २०२१ मा स्पान्योलसँग २–१ ले पराजित भएयता अपराजित रहेको थियो।

घरेलु टोली गेटाफेको जितमा पहिलो हाफमा इनेस युनालले गरेको गोल नै निर्णायक बन्यो। इनेसले खेलको नवौं मिनेटमा गोल गरेका थिए। एक गोलले पछि परेको रियलले बल पोसेसन राख्दै घरेलु टोलीलाई लगातार दवावमा राखे पनि जित हात पार्न भने सकेन।

रियल रोकिँदा एट्लेटिको मड्रिडले भने सहज जित हात पारेको छ। आइतबार राति सम्पन्न खेलमा एट्लेटिकोले रायो भालेकानोलाई २–० गोल अन्तरले हराएको हो।

एट्लेटिकोको जितमा दुवे गोल एन्जल कोरियाले गरेका थिए। खेलको २८ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका कोरियाले ५३ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई २–० को जित दिलाए।

हारपछि पनि रियल शीर्षस्थानमा यथावत् छ। रियलको २० खेलबाट ४६ अंक रहेको छ। दोस्रो स्थानको सेभियाको १८ खेलबाट ३८ अंक छ। रियललाई हराएको गेटाफे १८ अंकका साथ १६औं स्थानमा उक्लिएको छ। जितसँगै १९ खेलबाट ३२ अंक जोडेको एट्लेटिको चौथो स्थानमा उक्लिएको छ भने पराजित भालेकानो ३० अंकका साथ पाँचौं स्थानमा रहेको छ।

Facebook Comments Box